२०२२ मा रेमिट्यान्स साढे ८ अर्ब अमेरिकी डलर पुग्ने अनुमान
काठमाडौँ–नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह ३ दशमलव ६ प्रतिशतले बढेर साढे ८ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफ’ रिपोर्टअनुसार गत वर्षको तुलनामा यस वर्ष रेमिट्यान्स बढ्ने देखिएको हो । सन् २०२१ मा नेपालले ८ अर्ब २० करोड अमेरिकी डलर बराबर रेमिट्यान्स भित्रयाएको थियो ।
नेपालले रेमिट्यान्समार्फत आउने रकम मुद्दति निक्षेपमा राख्दा अतिरिक्त ब्याज दिने व्यवस्था गरेको, दैनिक रूपमा पठाउन सकिने रकमको सीमा बढाएको र विदेशी मुद्रा बचत खाता खोल्न सकिने व्यवस्था लागू गरेपछि त्यसको सकारात्मक प्रभाव देखिएको पनि रिपोर्टमा उल्लेख छ । कूल गार्हस्थ्य उत्पादन (जिडिपी) आकारको तुलनामा बढी रेमिट्यान्स भित्रयाएउने मुलुकमा नेपाल अग्रस्थानमा छ । नेपालले सन् २०२२ मा कूल जिडिपीको २२ प्रतिशत बराबर रेमिट्यान्स आर्जन गर्ने अनुमान विश्व बैंकको छ ।
सन् २०२२ मा विश्वव्यापी रेमिट्यान्स प्रवाहको वृद्धिदर ४ दशमलव ९ प्रतिशत हुने अपेक्षा विश्व बैंकको छ । गत वर्ष अर्थात् सन् २०२१ मा विश्वभर पछिल्लो १ दशकयताकै उच्च रेमिट्यान्स परिचालन भएको थियो । सन् २०२० को तुलनामा सन् २०२१ मा १० दशमलव २ प्रतिशतले रेमिट्यान्स प्रवाह बढेको विश्व बैंकको रिपोर्टमा उल्लेख छ । कोभिड महामारी, रुस–युक्रेन युद्ध, विश्वभर देखिएको मूल्यवृद्धिलगायत समस्याको असर आप्रवासी कामदार र रेमिट्यान्समा पनि देखिएको रिपोर्टमा उल्लेख छ ।
सन् २०२२ मा दक्षिण एशिया क्षेत्रको रेमिट्यान्स प्राप्ति ३ दशमलव ५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । त्यो गत वर्षभन्दा न्यून हो । गत वर्ष अर्थात् सन् २०२१ मा यो क्षेत्रको रेमिट्यान्स आप्रवाह वृद्धिदर ६ दशमलव ७ प्रतिशत बराबर थियो । सन् २०२३ मा भने विश्व रेमिट्यान्स वृद्धिदर २ प्रतिशतमा खुम्चिनेछ । आगामी वर्ष दक्षिण एशियाको रेमिट्यान्स वृद्धिदर शून्य दशमलव ७ प्रतिशतमा खुम्चनेछ ।
यस वर्ष दक्षिण एशियामा मात्रै १ खर्ब ६३ अर्ब अमेरिकी डलर बराबर रेमिट्यान्स आउने अनुमान विश्व बैंकको छ । जनसङ्ख्याको अनुपातमा आप्रवासी कामदार पठाउने दक्षिण एशियाली मुलुकमा नेपाल तेस्रो स्थानमा छ । अफगानिस्तानले आफ्नो जनसङ्ख्याको १३ दशमलव ५, श्रीलङ्काले ८ दशमलव ८ र नेपालले ८ प्रतिशत आप्रवासी कामदार पठाएको छ ।
त्यस्तै भूटानमा ६ दशमलव ५, बङ्गलादेशमा ४ दशमलव ८, पाकिस्तानमा ३ र भारतमा १ दशमलव ३ प्रतिशत जनसङ्ख्या आप्रवासी कामदारका रूपमा रहेका छन् । निम्न र मध्यम आय भएका देशमध्ये सबैभन्दा बढी रेमिट्यान्स यस वर्ष भारतले भित्र्याउने अनुमान गरिएको छ । भारतले यस वर्ष १ खर्ब अमेरिकी डलर बराबर रेमिट्यान्स भित्र्याउने विश्व बैंकको अनुमान छ ।