Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनप्रतिनिधि चुनेपछि काम खोज्न भारत तिर

शनिबार, मंसिर १७, २०७९

कञ्चनपुर–प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीमा लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ । पछिल्लो केही दिन यता पश्चिमी सीमानाका गड्डाचौकी भएर भारत जानेको सङ्ख्या बढेको हो ।

 

दैनिक ४ सयको हाराहारीमा नेपलाी नागरिक काम खोज्न गड्डाचौकी नाका भएर भारततर्फ गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक बहादुर धामीले बताए ।  ‘निर्वाचन सकिएपछि अहिले भारततर्फ जानेको सङ्ख्या बढी छ, आउने कम छन्’, उनले भने, ‘दैनिक ४–५ सय नेपाली नागरिक भारततर्फ गइरहेका छन् ।’

 

निर्वाचनमा मतदानका लागि आएका नेपाली नागरिक फेरि कामको लागि भारत जान थालेका हुन् । ‘मतदानको लागि गाउँबाट फोन गरेर बोलाएका थिए, मतदान पनि गरे, स्वदेशमै रोजगारी केही छैन’, अछामका नागेश्र टमाटाले भने, ‘जीविकोपार्जन गर्नका लागि भारततर्फ जानुपर्छ ।’ ५ वर्षमा आउने निर्वाचनमा मतदानबाट चुनिएका जनप्रतिनिधिले स्वदेशमै रोजगारी सिर्जना गरेर विदेशिनुपर्ने बाध्यता हटाउने पर्ने अछामका हर्कबहादुर बोहरा बताउँछन् ।

 

‘निर्वाचनको लागि बिदा मिलाएर भोट हाल्न आएको थिएँ, आफ्नो मताधिकारको प्रयोग गरें’, उनले भने, ‘निर्वाचनको उत्सवमा मतदान ग¥यौँ तर हाम्रा दुःख कोही देख्दैनन्, नयाँ जनप्रतिनिधिले पनि पुरानै व्यवहार नदेखाउन् ।’ स्वदेशमै रोजगारी सिर्जना नहुँदा कामको खोजीमा भारत पस्नुपरेको बाजुराका मङ्गल साउदले बताए । ‘स्वदेशमै मजदूरीको काम पनि पाइँदैन, कृषि गर्न खोजे मल, बीउनै पाइँदैन’, उनले भने, ‘त्यसैले घरखर्च चलाउन भारत जानुपर्ने बाध्यता छ ।’

 

संविधान निर्माणपश्चात् स्वदेशमै रोजगारी पाएर विदेश हानिनुपर्ने बाध्यता हट्ने अपेक्षा गरे पनि त्यो पूरा हुन नसकेको बैतडीका सन्तोष पन्तको भनाइ छ । ‘संविधान बनेपछि स्वदेशमै रोजगारी पाउने र देश विकास हुने अपेक्षा थियो’, उनले भने, ‘तर जनताले अपेक्षा गरेअनुसार सुधार हुन सकेन, अझै पनि कामको लागि विदेश जानुपर्ने बाध्यता छ ।’ सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा क्रमिकरूपमा विकास भइरहेको भए पनि युवाले स्वदेशमै रोजगारी नपाउने अवस्था रहेको छ ।

 

‘अहिलेसम्म भोट दिएर हामीले केही पाएका छैनौँ, जहिल्यै पनि ठगिएकै मात्रै छौँ’, बझाङका दुर्गा बोहराले भने, ‘नयाँ जनप्रतिनिधिले कामका लागि भारत जाने बाध्यता हटाउनुपर्छ, हामीले परदेशमै जीवन कटायौँ, हाम्रा सन्तानले यो समस्या भोग्नु नपरोस् ।’ कामको खोजीमा सुदूरपश्चिम, कर्णालीलगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेका छन् ।

 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १८:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार