राजकुमार राइ २४ वर्षपछि फेरि फिल्मी पर्दामा
काठमाडौँ–सन् १९९९ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘द कमाण्डो’ का अभिनेता राजकुमार राई २४ वर्षपछि पुनः फिल्मको पर्दामा देखिने भएका छन् । आगामी मंसिर २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल अफ द कमाण्डो’ बाट उनी पुनः पर्दामा देखिन लागेका हुन् ।
कमब्याक फिल्मबाट उनले ठूलो आशा र अपेक्षा गरेका छन् । दर्शकले कथावस्तु र एक्सन दुवै मन पराउने उनले बताए । उनी ‘द सोल अफ कमाण्डो’ लाई राष्ट्रियतासँग जोडिएको फिल्म मान्छन् ।
‘२४ वर्षपछि अभिनयमा फर्कंदा गाह्रो भएन । म फिल्मको कारणले एकदमै एक्साइटेट छु’ राइले भने । गोर्खाली सेनाका रूपमा ब्रिटिश आर्मीमा भर्ती हुने सैनिक किन स्वदेश फर्कन लालयित हुन्छ भन्ने कथामा फिल्म निर्माण भएको छ ।
फिल्ममा राइसँगै शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रूपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बू, पूर्ण लिम्बू, कमला खापुङ लिम्बू, सुस्मिता लिम्बू, एन्जल राई, टीकाराम ठकुरी, सोनीका राई लगायतको पनि अभिनय छ । युवराज (वीरबहादुर) राई निर्देशित फिल्ममा मिलन राई, रवि थापा र धन लिम्बू निर्माता तथा विजय एल राई कार्यकारी निर्माता छन् ।