बचतकर्ताको रकम ठगेर सहकारीका सञ्चालक फरार
काठमाडौँ–जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारीका सञ्चालक श्याम लामा फरार भएका छन् । सञ्चालक फरार भएपछि बचत रकम जम्मा गरेका बचतकर्ता विचल्लीमा परेका छन् । सहकारीका सञ्चालक लामासहितका कर्मचारीले सहकारी बन्द गरी फरार भएका हुन् ।
यसअघि सहकारीका कर्मचारीले १८ असोजमा सबैको पैसा फिर्ता दिने भन्दै भुक्तानी माग गर्ने बचतकर्तालाई फर्काएका थिए । सहकारीबाट रकम नपाएका मध्येका एक पीडित रामु तामाङले भने, ‘सहकारीले प्रतिव्यक्ति २ देखि ४० लाखसम्म पैसा खाएर भागेको छ ।’ पैसा फिर्ता पाउने आशाले सहकारीमा पुग्दा ताला लागेको उनले बताए ।
रामेछाप घर भएका तामाङले २ वर्षअघि गोकर्णेश्वर नगरपालिका –५ मा रहेको मञ्जुश्री सहकारीमा ८ लाख जम्मा गरेका थिए । यतिवेला सो पैसा कसरी उठाउने भन्ने चिन्तामा रहेका उनी बताउँछन् । यतिवेला सहकारीमा जितेन लामाको ३५ लाख, उमेश खतिवडाको १४ लाख, भगवती मिजारको ६ लाख र डोल्मा लामाको २३ लाख रुपैया लिन बाँकी छ ।
सहकारीले एक महिना अगाडि सुमो सकोससँग एकीकरण भएको सूचना सार्वजनिक गरेको थियो । सहकारीमा कूल कति सदस्य छन् र कति रकम ठगी भएको भन्नेबारे यकिन तथ्याङ्क खुलिनसकेको बताइएको छ । ठगिमा परेका बचतकर्ताहरू प्रहरीमा उजुरी गर्ने तयारी गरेका छन् ।