मेला सञ्चालन गर्न आर्थिक सङ्कट
भैरहवा– सिद्धार्थ उद्योग वाणिज्य सङ्घले २३ मङ्सिरबाट भैरहवामा मेला आयोजना गर्दैछ । पहिले मेलाको आयोजना गर्दा लाखौं लगानी गरेर मेला सचिवालयलाई मायादेवी, रानीमहलको स्वरुप दिने सङ्घले यसपटक सामान्य सचिवालय निर्माण गरेको छ ।
यसपटकको सचिवालयले कुनै स्वरुप पाएको छैन । यसको मुख्य कारण हो आर्थिक संकट । संघका एक पदाधिकारी भन्छन्, ‘स्वरुप दिएर सचिवालय निर्माण गर्न कम्तीमा ३ देखि ४ लाख लाग्छ, तर बजेट छैन ।’
सङ्घका अध्यक्ष भिष्म न्यौपाने पनि आर्थिक संकटको अवस्थालाई स्वीकार्छन् । उनी भन्छन्, ‘यसरी सामान्य सचिवालय निर्माण गर्नुको मुख्य उद्देश्य मेला अवलोकन गर्न आउनेलाई थाहा होस् कि आर्थिक संकटका कारण पहिला भन्दा फरक भयो ।’
मेलामा राखिने स्टल पनि अझैसम्म पुरै भाडामा जान सकेको छैन । पछिल्लो समय बजारमा देखिएको आर्थिक सङ्कटका कारण व्यवसायीहरू मेलासम्म पुग्न सकेका छैनन् ।