भरतपुरका ५ सहकारी समस्यामा
चितवन–भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका ५ सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो ।
भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका ३ र क्षेत्राधिकार बाहिरका २ सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो । महानगर क्षेत्राधिकारभित्र रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था र समाज कल्याण बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिएको छ । सनराइज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकको नियतका कारण समस्या आएको उनले जानकारी दिए । यस्तै प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेको सहारा चितवन बचत तथा ऋण सहकारी र सहकारी विभागको क्षेत्राधिकारभित्र रहेको शुक्रपथ बचत तथा ऋण सहकारीमा पनि समस्यामा परेको जनाइएको छ ।
महानगरको क्षेत्राधिकारभित्र रहेका सहकारी सनराइज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकले ऋणी नक्कली खडा गरेर काम गरेको पाइएको छ । भरतपुर महानगरपालिका–३ मा रहेको सो सहकारीका अध्यक्षले नक्कली ऋणी खडा गरेर आर्थिक हिनामिना गरेको पाइएपछि छानबिन सुरु गरेको शाखा प्रमुख पौडेलले बताए । भरतपुर –३ का अध्यक्ष विकास थापाले निक्षेपकर्ताको बचत असुलीका लागि आवश्यक सहजीकरण भइरहेको बताए ।
उक्त सहकारीमा कर्मचारीको सहयोगमा अध्यक्षले रकम हिनामिना गरेको पाइएको छ । यस सहकारीमा ३ हजार ५०० शेयर सदस्य रहेको र ७० करोड रुपैयाँको कारोबार भएको उनले जानकारी दिए । यस सहकारीले तीन स्थानमा सेवा कार्यालय सञ्चालन गरी आफ्नो कारोबार गर्दै आएको थियो ।
यस्तै चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थामा २ हजार २०० शेयर सदस्य छन् । आर्थिक तरलता देखिएपछि सहकारीले १ लाख रुपैयाँ भन्दा कम बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न लागेको पौडेलले बताए । यस सहकारीमा वार्षिक २० करोड रुपैयाँ हाराहारीको कारोबार हुने गरेको शाखाले जनाएको छ ।
समाज कल्याण बचत तथा ऋण सहकारी संस्थामा वार्षिक ३५ करोड रुपैयाँ हाराहारीको कारोबार हुने गरेको थियो । ५ हजार सदस्य रहेको सो सहकारीलेको प्रधान कार्यालय भरतपुर –१ मा छ । यसले २ सेवा केन्द्रको अनुमति लिएको भए पनि एउटा केन्द्रबाट काम गर्दै आएको छ । सहकारीले साना बचतकर्ताको रकम फिर्ता गरिरहेको छ भने ठूला बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन ।
प्रदेश र सहकारी विभागको क्षेत्राधिकारभित्र रहेका २ सहकारीको विवरण महानगरपालिकाको सहकारी तथा रोगार प्रवद्र्धन शाखासँग नहुने भएकाले कति बचतकर्ता प्रभावित भए भन्ने विषयमा जानकारी नभएको उनले बताए ।
तरलताको अभावका कारण बचतकर्तालाई समयमा रकम दिन नसक्ने समस्या बढेसँगै महानगरपालिकाको क्षेत्राधिकारभित्र रहेका सहकारीले साधारणसभामार्फत समस्या समाधानका लागि काम गर्न लागेका छन् । महानगरमा हाल ३५४ सहकारी संस्था सञ्चालनमा छन् । तीमध्ये ४८ सहकारी संस्था निष्क्रिय छन् ।