Nic Ad Nic Ad
Nic Ad Nic Ad

किम्फ महोत्सव आजदेखि, पहिलो दिन ‘बाघको बङ्गारा’ प्रदर्शन हुँदै

बिहीबार, मंसिर २२, २०७९

काठमाडौँ–काठमाडौँमा बिहीबारदेखि काठमाडौ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) सुरु हुँदैछ । किम्फको यो २०औँ संस्करण हो । यो वर्ष किम्फमा ३० देशका ६० भन्दा बढी फिल्म प्रदर्शन गरिने आयोजक हिमाल एसोसिएशनले जनाएको छ । फेस्टिभल राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्नेछ ।


फेस्टिभलमा बलिउड निर्देशक प्रकाश झा मुख्य वक्ताको रुपमा सहभागी हुनुहुनेछ । किम्फमा झा अभिनित तथा एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकल’ को विशेष प्रदर्शन हुँदैछ । यसवर्षको संस्करणको मूल नारा ‘दिगो आरोहण’ राखिएको छ ।


कोरोना महामारीका कारण दुई वर्षपछि दर्शकको प्रत्यक्ष उपस्थितिमा हुन लागेको फेस्टिभलमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्महरू देखाइनेछन् । फेस्टिभलको पहिलो दिन बिहीबार मह सिकारीको कथा समेटिएको फिल्म ‘बाघको बङ्गारा’को प्रिमियर हुने भएको छ ।


टेलिभिजन कार्यक्रम ‘हेर्ने कथा’ की सञ्चालिका विद्या चापागाईँ निर्माता र कमलकुमार निर्देशक रहेको यो फिल्ममा उत्तरी जाजरकोटका बासिन्दाले अप्ठ्यारो भिरमा चढेर गर्ने मह सिकारीको कथा समेटिएको छ ।


‘हेर्ने कथा’ कार्यक्रम तयार पार्ने क्रममा यो फिल्म बनाइएको निर्मात्री चापागाईँले बताए । निकै मेहनत र कठिनाइपूर्वक फिल्मको दृश्य खिचिएको निर्देशक कमलकुमारको भनाइ छ । किम्फ २६ गतेसम्म चल्नेछ ।


समापनमा पोलियो उन्मूलनका लागि अपाङ्गता भएका अस्ट्रेलियन नागरिकले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाई फ्रम एभरेष्ट’ प्रदर्शन हुनेछ । साथै अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो उत्कृष्ट तीन वटा फिल्मले क्रमशः दुई लाख, एक लाख पचास हजार र एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । नेपाली अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट फिल्मलाई एक लाख र पचहत्तर हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १०:५५
प्रतिक्रिया दिनुहोस्