Nic Ad Nic Ad
Nic Ad Nic Ad

मध्यबिन्दुमा अस्पताल भवन शिलान्यास

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौँ । पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल भवन निर्माण सुरु भएको छ। अस्पताल भवनको आज मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले शिलान्यास गरे। 


यसअघि मध्यबिन्दु–७ मा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गरिएको थियो। नगर अस्पताल सञ्चालनको लागि सुविधा सम्पन्न भवन निर्माणको लागि ठेक्का सम्झौता भई निर्माणको काम अगाडि बढेको नगरप्रमुख अधिकारीले बताए। 


दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी नगरपालिकाले २०७९ कात्तिक १७ गते ठेक्का सम्झौता गरेको छ। भ्याटसमेत रु १७ करोड ५६ लाख २८ हजार एक सय ८७ लागतमा १५ शय्याको अस्पताल निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए। 


अस्पताल निर्माणपछि नगरपालिकासँगै अन्य पालिका तथा जिल्लाका सेवाग्राही लाभान्वित  हुने प्रमुख अधिकारीले विश्वास व्यक्त गरेको छ। स्थानीय तह गठनपछि प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना भए पनि आवश्यक स्वास्थ्य सेवा उपलब्ध हुने बताए।


मध्यबिन्दु नगरपालिकाले यस अगाडि ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रममार्फत प्रत्येक महिना घरमा नै पुगेर स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्ने व्यवस्थासमेत मिलाएको छ। नगरपालिका कार्यालय परिसरमा सुविधा सम्पन्न स्तनपान कक्ष निर्माण, नगर अस्पताल सञ्चालन कार्यविधि निर्माण तथा समिति गठनलगायतको काम यस अगाडि गरिसकेको अधिकारीले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्