Nic Ad Nic Ad
Nic Ad Nic Ad

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवद्र्धन आवश्यकः राष्ट्रपति

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली हस्तकलाको प्रवद्र्धनमार्फत स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा जोड दिएकी छन् । नेपाल हस्तकला महासङ्घले आयोजना गरेको १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उनले आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवद्र्धन आवश्यक रहेको बताइन्।

 

राष्ट्रपति भण्डारीले नेपाली हस्तकला तुलनात्मक लाभको रूपमा रहनुका साथै नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रियरूपमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । उनले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा उत्पादित सामग्रीको निर्यात प्रवद्र्र्धन गर्न सकेमात्र मुलुकको चुलिँदो व्यापार घाटा कम गर्न सकिने धारणा व्यक्त गरिन ।

 

मेलाले उत्पादन र उपभोक्तालाई आपसमा जोड्नुका साथै नेपाली मौलिक हस्तकलाको प्रवद्र्धनमा टेवा पुग्ने उल्लेख गर्दै उनले देशको सामुदायिक एवं सांस्कृतिक विविधतालाई समेटी नेपाली हस्तकलाका सामग्रीलाई व्यापक विस्तार गरिनुपर्नेमा जोड दिए। हस्तकलाका सामग्रीसहित स्वदेशी उत्पादन प्रोत्साहनका लागि सरकारले विशेष प्राथमिकता दिएको भन्दै राष्ट्रपति भण्डारीले यसबाट स्वदेशी हस्तकलालगायत उद्योगको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

 

मङ्सिर २७ गतेसम्म सञ्चालन हुने मेलामा चारवटा प्याभिलियनसहित करिब एक सय ३० स्टल रहने आयोजकले जनाएको छ । महासङ्घका अनुसार हाल करिब रु १२ अर्ब बराबरका हस्तकला विश्वका ६० भन्दा बढी मुलुकमा निर्यात हुँदै आएको छ  । वार्षिक कुल रु २४ अर्ब हाराहारीको हस्तकलाको कारोबार हुने गरेको छ । त्यस्तै हस्तकला उद्योग व्यवसायमा करिब  आठ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न रहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १९:२६
प्रतिक्रिया दिनुहोस्