सार्वजनिक सम्पत्ति संरक्षणः कीर्तिपुर नगरपालिकाले छुट्यायो ४० लाख
काठमाडौँ– कीर्तिपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गा, चौर, पाटी पौवा आदि सम्पत्ति संरक्षणका लागि विशेष पहल गर्ने भएको छ । यसका लागि रु ४० लाखको बजेट छुट्याएर काम सुरु गरिसकिएको छ ।
गत वैशाखमा निर्वाचित भएर नगरपालिकाको कार्यभार सम्हालेपछि पहिलो पटक आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरपालिकाका प्रवक्ता एवं उपप्रमुख शुभलक्ष्मी शाक्यले नगरभित्रका सार्वजनिक जग्गा पाटी, चोक र वन क्षेत्रमा अतिक्रमण बढदै गएको गुनासो बारम्बार आउन थालेपछि बजेट विनियोजन नै गरी सार्वजनिक सम्पत्ति सुरक्षणमा लागिएको जानकारी दिए। “अहिलेको नगर नेतृत्व सार्वजनिक सम्पत्ति बचाउनु पर्नेमा एक मत छ”, उनको भनाइ थियो । यसको संरक्षण गर्न सके नगरवासीका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सहयोग पुग्ने मात्र नभई कुनै पनि बेला आइपर्ने आपद् विपतमा काम लाग्ने धारणा पनि उनको थियो ।
पत्रकार सम्मेलनमा नगरपालिकाले नगरका सबै विद्यालयको भौतिक र शैक्षिक अवस्था निरीक्षणसहित सघन अनुगमन गर्न चार÷चार जनाको टोली बनाएर खटाउने जानकारी पनि कार्यक्रममा दिइयो । यसअन्तर्गत टोलीले विद्यालयका भौतिक संरचना विद्यार्थी मैत्री एवं शैक्षिक मापदण्डअनुरूप भए नभएको निरीक्षण गर्ने, शैक्षिक वातवरण र सिकाइ उपलब्धिबारे बुझ्ने र निरीक्षणबाट प्राप्त परिणाम नगरपालिकालाई बुझाउने छन् । टोली नगरपालिकाको शिक्षा शाखाको नेतृत्वमा परिचालित हुनेछन् । टोलीले नगरका सार्वजनिक र निजी स्वामित्वका गरी ३० भन्दा बढी विद्यालयको निरीक्षण गर्नेछ ।
नगरपालिकाले प्राकृतिक विपद् नियन्त्रणसहित करिब दुई सय २५ योजना अघिल्ला वर्षका कार्यक्रमअन्र्तगत ल्याइएको जानकारी दिएको छ । नगरस्तरीय २१ र ४४ वटा वडास्तरीय योजना सञ्चालन भइरहेको र आगामी चैत मसान्तसम्म सबै योजनाको सम्झौता गरिसक्ने योजना रहेको उपप्रमुख शाक्यले जानकारी दिए। नगरपालिकाले सांस्कृतिक र पुरातात्विक क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल भइरहेको जानकारी पनि उपप्रमुख शाक्यले दिए।
उनले शिक्षामा ‘एक घर एक स्नातक’ कार्यक्रमअन्तर्गत तीन सामुदायिक क्याम्पसमा नगरपालिकाले ६० प्रतिशत र सम्बन्धित क्याम्पसले ४० प्रतिशत व्यहोर्ने गरी कार्यान्वयनमा गएको जानकारी पनि उनले दिए। चालु आर्थिक वर्षमा नगरपालिकाले चालु र पूँजीगत गरी कुल बजेटको १९ दशमलव ४४ प्रतिशत रकम खर्च गरेको उनले बताए।