फिफा विश्वकप २०२२ः पोर्चुगल र मोरक्कोबीच क्वाटरफाइनल खेल सुरु
काठमाडौँ– कतारमा जारी फिफा विश्वकपमा आज पोर्चुगल र मोरक्कोबीच रोमाञ्चक खेल सुरु भएको छ । मोरक्को अपराजित टिम मध्ये एक हो । बेल्जियम र क्रोएसिया जस्ता टिम रहेको समूहबाट विजेता बन्दै अघि बढेको मोरक्कोले अन्तिम १६ मा पूर्वविजेता स्पेनलाई पराजित गरेको थियो ।
एटलस लायन्सको उपनामले चिनिने यो मोरक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो भने समग्रमा चौथो अफ्रिकन टिम हो । क्वाटरफाइनल पुग्ने मध्ये फिफा वरीयतामा सबैभन्दा पछि रहेपनि जारी विश्वकपमा भने मोरक्को प्रदर्शन गज्जबको छ। सन् १९८६ पछि पहिलो पटक विश्वकपको समूह चरण पार गरेको मोरक्कोले यस पटक इतिहासमै उच्च सफलता हात पारेको हो र अझै अगाडि बढ्ने लक्ष्यमा छ ।
क्रोएसियासँग गोलरहित बराबरी खेल्दै विश्वकप सुरु गरेको मोरक्कोले बेल्जियमलाई २–० ले हरायो भने क्यानडालाई २(१ ले पराजित गरेको थियो । जारी विश्वकपमा मोरक्कोले बेहोरेको एक मात्र गोल पनि आत्मघाती थियो । मोरक्कोले अन्तिम १६ मा मोरक्कोले पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ३(० ले स्तब्ध पारेको थियो । मोरक्कोले जारी विश्वकपमा जम्मा एक गोल मात्र बेहोरेको छ ।
पोर्चुगललाई पनि स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्ने लक्ष्यमा छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले अहिलेसम्म विश्वकप जितेको छैन । तर पोर्चुगललाई पनि आउटसाइडर दाबेदारको रुपमा भने हेरिने गरेको छ । पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा सेमिफाइनल पुगेको पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । २०१० र २०१८ मा अन्तिम १६ बाटै आउट भएको पोर्चुगल २०१४ मा समूह चरणबाटै घर फर्किएको थियो ।
यस पटक २००६ को प्रदर्शन दोहोर्याउने लक्ष्यमा पोर्चुगल छ ।