Nic Ad Nic Ad
Nic Ad Nic Ad

थप ७ सय मेगावाट विद्युत भारत निर्यातको पर्खाइमा

आइतबार, मंसिर २५, २०७९

काठमाडौँ–आन्तरिक खपतबाट बढी हुने बिजुलीमध्ये करिब ४१० मेगावाटसम्म विद्युत् निर्यात भइरहेको छ । गत वर्षबाट बिजुली भारत निर्यात हुन थालेको हो । चालू वर्षको पहिलो साढे ५ महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाको विद्युत् भारत निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् भारत निर्यात भएको हो । 


प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । थप ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यातका लागि भारतको सहमतिको पर्खाइमा रहेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । 


तर, विद्युत् निर्यातको दीर्घकालीन सम्झौता भने हुन सकेको छैन । अहिले भारतले निर्यातका लागि दिएको सहमति अल्पकालीन हो । यसलाई बर्सेनि नवीकरण गर्नुपर्छ । हिउँदयाममा अझै आयात गर्नुपर्ने तर वर्षायाममा आन्तरिक खपत बढ्न नसकेको र निर्यातको दीर्घकालीन नीति अझै बन्न नसकेको प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले बताउँछन् । बिजुली किन्नका लागि भारत सहमत नै भएकाले बजार सुनिश्चित भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । 


बंगलादेश पनि नेपालको बिजुली किन्नका लागि तत्पर देखिन्छ । बंगलादेशले सन् २०४० सम्म ९ हजार मेगावाटसम्म बिजुली आयात गर्ने नीतिगत निर्णय गरेको छ । तर, बंगलादेश नेपालको विद्युत् व्यापारमा भारतको सहमति आवश्यक छ । नेपाल बेच्न तयार छ भने बंगलादेश किन्न तयार छ तर भारत भएर जानुपर्ने भएकाले भारतको सहमतिको पर्खाइमा दुबै देश छ । 


नेपालको बिजुली बंगलादेख बेच्न भारत र बंगलादेशको प्रसारण पूर्वाधारमा काम गर्न आवश्यक देखिन्छ । अहिले भारत र बंगलादेश जोड्ने प्रसारणलाइन करिब ६० मेगावाट क्षमताको मात्रै छ । अहिले नेपालले ६० मेगावाट मात्र बंगलादेश निर्यात गर्न सक्छ । पछिल्लो समयमा भारत र बंगलादेशको बीच ठूलो प्रसारणलाइन बनाउने सम्बन्धमा २ देशबीच छलफल भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।


२ देशबीच प्रधानमन्त्रीस्तरमा छलफल भइरहेको उनले बताए। यता ऊर्जा सचिव दिनेश घिमिरेका अनुसार चाँडै नै हुन गइरहेको नेपाल–भारत ऊर्जा छलफलमा थप निर्यात र बंगलादेशमा निर्यातलाई प्राथमिकतामा राखेर एजेन्डा बनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्