भुक्तानी नपाएपछि किसान सस्तोमा उखु बेच्न बाध्य
सर्लाही–उखु मिलहरूले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । ३ वटा उखुमिल मध्ये हरिवन नगरपालिका– ११ स्थित रहेको इन्दु शङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी नदिएपछि हैरान भएका किसानले उत्पादन गरेको उखु सक्खर उद्योगलाई बेच्न थालेका हुन् ।
जिल्लामा रहेका चिनी मिल पनि समयमा सञ्चालन नहुने र उखु बेचेको लामो समयसम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका किसानहरू स्थानीय सक्खर उद्योगलाई आफूले उत्पादन गरेको उखु समयमै बेचेर खाली भएको जमिनमा मुसुरो, गहुँ र धनियाँ लगाउन थालेका छन् ।
इन्दुशङ्कर चिनी उद्योग पुसको पहिलो साताबाट सञ्चालन गर्ने तयारी भइरहेको भए पनि अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिल विगतका वर्षमै खरिद गरेको उखु उत्पादक किसानको रकम भुक्तानी गर्न नसकेर सञ्चालन हुने नहुने भन्ने दोधारमा रहेका छन् । ‘किसानहरूले समयमै उखु बिक्री गर्न नपाउँदा खेतमा अन्य बाली लगाउन नपाउने हुँदा सक्दर उद्योगलाई उखु बेचेर भए पनि समयमै आफ्नो खेत खाली गरी अन्य बाली लगाउँदै छन्’, बरहथवा नगरपालिका– १२ का उखु उत्पादक किसान बलिराम रायले भने ।
उनका अनुसार चिनी मिल समयमै सञ्चालन नहुने र सञ्चालन भइहाले पनि भुक्तानी कहिले पाउने भन्ने टुङ्गो नहुने कारणले किसानले खेतमा अर्को बाली पनि लगाउन पाएनन् । भुक्तानीको चिन्ता सधैँ रहिरहने गरेका कारण पनि किसान सक्खर उद्योगलाई उखु बिक्री गर्न थालेका हुन् ।
सरकारले यस वर्ष ६ सय रुपैया प्रति क्विन्टल उखुुको मूल्य निर्धारण गरेको भए पनि किसानले अहिले सक्खर उद्योगलाई प्रति क्विन्टल ३५० रुपैयाका दरले उखु बेच्न थालेका उखु उत्पादक किसान राजकुमार मैनालीले बताए । चिनी मिल नै बन्द भएपछि उब्जाइएको उखुु कसैले खरिद गर्न नसकेको अवस्थामा बाध्य भएर सस्तो मूल्यमा सक्खर उद्योगलाई बेच्न थालेको बसबरिया गाउँपालिका– २ का उखु उत्पादक किसान रामविलाश महतोले बताए ।
खेतमा सिँचाइ तथा मलको अभावका कारण अन्य कुनै बाली उब्जाउन नसकिएका कारण बर्सेनि उखुखेती गर्दै आए पनि यसबाट कुनै फाइदा नभएको र समय गुज्रिएपछि बेचेको उखुको भुक्तानी कहिले पाउने भन्ने ठेगान नरहेको महतोले बताए ।
खेतमा लगाएको उखु बेचेर पुनः मुसुरो, धनियाँ र गहुँ लगायतका बाली लगाउन सकिने भएकाले हतार–हतारमा उखु बेच्न थालेको उखु उत्पादक किसान विनय रायले बताए ।
बरहथवा नगरपालिकाभरि हाल करिब ६ वटा सक्खर उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । उद्योग सञ्चालकले पनि सक्खरको मागअनुसार उखुुको मूल्य निर्धारण गर्दै आएका छन् । उत्पादित सक्खरको खपत कम भयो भने उखुको मूल्य पनि २७० रुपैयासम्म प्रति क्विन्टल हुन्छ । खपत बढी भयो भने ४०० रुपैयासम्ममा सक्खर उद्योगले उखु किन्ने गरेका छन् ।