Nic Ad Nic Ad
Nic Ad Nic Ad

फेरियो घोडाको प्रयोग

आइतबार, मंसिर २५, २०७९

काठमाडौँ । सडक विस्तार नहुँदासम्म छिटो गन्तब्यमा पुग्न घोडाको विकल्प थिएन। घोडा चढ्नु र पाल्नुलाई व्यक्तिको आर्थिक, सामाजिक हैसियत र प्रतिष्ठासँग तुलना गरिन्थ्यो । केहि बर्ष अघिसम्म यातायातका साधनका रुपमा प्रयोग हुने घोडा अहिले सडक विस्तारसँगै विस्थापित भएका छन्। 


घोडाको ठाउँ मोटरसाइकल र गाडीले लिएका छन्। घोडामा चढ्ने र सामान ढुवानी गर्ने चलन अहिले घटेको छ। घोडाको प्रयोग हिजोआज फेरिएको छ। तर पर्यटकका लागि भने घोडा आकर्षण बनेको छ। 


अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका याम पुन पर्यटकलाई गन्तब्यमा पुर्‍याउनका लागि घोडाको माग बढ्न थालेको बताउँछन्। “घोडा चढेर यात्रा गर्न पर्यटकले रुचाएका छन्”, उनले भने, “सडक भएपछि सामान बोक्न र हामीले चढ्न प्रयोग गरेका घोडालाई अहिले पर्यटक बोक्न प्रयोग गरेका छौँ ।” 


घोडेपानीदेखि घान्द्रुक र नयाँपुलदेखि घोडेपानी आवतजावत गर्ने पर्यटकलाई घोडामा चढाएर आयआर्जन गर्ने माध्यम बनेको छ। घोडेपानीका ६ वटा होटलले पर्यटकलाई चढाउनका लागि २५ घोडा पालेका छन्। पर्यटकलाई घोडामा चढाएर घोडेपानीदेखि घान्द्रुक पुर्‍याएको १५० डलर शुल्क तोकिएको छ। 


“कोही पर्यटकले ५००÷६०० डलर तिरेर दुई तिन दिनसम्मका लागि घोडा भाडामा लिएर घुम्न लैजान्छन्”, घोडोपानीका होटल व्यवसायी डमबहादुर पुनले भने, “हेलिकप्टर जान नसक्ने ठाउँमा घाइते भएका र फसेका पर्यटकको उद्धारमा पनि घोडा प्रभावकारी बनेको छ ।”


अशक्त र हिँड्न गाह्रो भएरभन्दा पनि रमाइलोका लागि घोडा चढ्ने गरेका पुनले बताए । पर्यटकका लागि पुनले छ वटा घोडा पालेका छन् । घोडेपानीका साथै कास्कीको पर्यटकीयस्थल घान्द्रुकबाट छोमरोङ, अन्नपूर्ण आधार शिविरतर्फ जाने पर्यटकले पनि घोडाको प्रयोग गर्ने गरेका घोडा व्यवसायी अमित गुरुङले बताए ।
 

घान्द्रुकमा घोडा चढेबापत प्रतिदिन १०० देखि ११० डलर शुल्क तोकिएको उहाँले बताए । पर्यटक बोक्न घोडालाई भ्याइनभ्याइ भएको अर्का व्यवसायी हितमान गुरुङले बताए। 


घोडचढीप्रति पर्यटकको रुचि र आकर्षण बढेपछि घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने घोडा मार्ग बनाइएको घोडेपानीका होटल व्यवसायी सुशील पुनले बताए। जङ्गलभित्र घोडा चढेर आवतजावत गर्न मिल्ने तीन किलोमिटर घोडामार्ग र प्यारीबाराही ताल परिसरमा तबेला बनाइएको छ। 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्