तोरी खेतीमा कृषकको आर्कषण घट्दै
गुल्मी–पछिल्लो समय गुल्मीका कृषकको तोरी खेतीमा आर्कषण घट्दै गएको छ । बजारमा तोरी र तेलको माग बढ्दो भए पनि मौसम प्रतिकुलताका कारण तोरी खेतीमा कृषकको आकर्षण घटदै गएको हो । पहाडी जिल्ला गुल्मीलगायत आसपासका क्षेत्रमा हिउँदे बालीको रुपमा तोरी खेती गरिन्छ ।
वर्षात्को बाली भित्र्याए लगत्तै यहाँका कृषकले हिउँदे बालीका रूपमा तोरी खेती गर्थे । तर, पछिल्लो समय मौसम प्रतिकुलताका कारण तोरीखेतीमा कृषकको लगाव घट्दै गएको हो । कम जनशक्ति र स्याहार सम्भार कम गरेर पनि राम्रो उत्पादन हुन्थ्यो । तोरी खेतीमा आवश्यक सिंँचाइ, वर्षा नहुँदा र मलको अभावका कारण मेहनत अनुसारको उत्पादन नहुँदा आफूहरू मर्काका परेको कृषक दिननाथ भण्डारीले गुनासो गरे ।
पहाडी क्षेत्रमा मकै, कोदो, गहुँ र तोरी मुख्य खेतीको रूपमा चिनिन्छ । यहाँका कृषकले फलफूलका साटो अन्नबाली खेती गर्दथे । अन्नबालीसँगै तोरीबाट मनग्य आम्दानी हुने भएकाले कृषकले परम्परागत तोरी खेती गरे पनि यसवर्ष उत्पादन कम भएको कृषक चन्द्रकला मरासिनी बताउँछिन् । उनले भनिन्, ‘तोरी र तेलको मूल्य भाउ दैनिक बढ्दै गएको छ तर सरकारले आवश्यक सिँचाइ र मलका प्रवन्ध समयमै नमिलाए कृषक तोरीखेतीबाट विस्थापित हुनुपर्ने अवस्था सिर्जना हक्छ ।’
आर्थिक वर्ष २०७७/०७८ मा ५ सय ८९ मेट्रिकटन र ०७८/७९ मा ७ सय १ दशमलब २ मेट्रिकटनसम्म तोरी उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका कृषि प्रसार अधिकृत शिबप्रसाद बञ्जाडे जानकारी दिए । बजारमा तोरीको माग र भाउ राम्रो भएपनि जलवायु परिवर्तनको असरका कारण यसखेतीमा कृषकको आर्कषण कम भएको कार्यालयले जनाएको छ ।