नेभिगेशन
सुरक्षा–अपराध

सरकारी कर्मचारी भन्दै ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ–नक्कली सरकारी कर्मचारी बनेर ठगी गर्ने एउटा गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘आन्तरिक राजस्व कार्यालय ठमेलका अधिकारी हुँ’ भन्दै होटेल तथा लजहरूबाट रकम असुल्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूले नक्कली अनुगमन अधिकृत र कार्यरत कर्मचारी बनेर बसपार्क क्षेत्रका होटल तथा लजबाट कर नतिरेको भन्दै शुल्क असुल्ने गरेका थिए ।


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहोराले ठगी र किर्ते गर्ने गिरोहलाई पक्राउ गरी थप अनुसन्धान थालिएको बताए ।


पक्राउ पर्नेहरुमा पूर्वी नवलपरासीका २९ वर्षीय मिनबहादुर विक, पाँचथरका २२ वर्षीया सिर्जना भट्टराई, अछामका १९ वर्षीय सागरजङ्ग लुहार, २३ वर्षीय दुतकला विक, सिन्धुपाल्चोककी २३ वर्षीया प्रमिशा तामाङ, नुवाकोटकी २१ वर्षीया अञ्जना तामाङ, कञ्चनपुरका २४ वर्षीय राजीव विष्ट र २५ वर्षीय डेविड धामी छन् । उनीहरू डेविड धामीको मास्टर प्लान अनुसार चल्ने गरेको प्रहरीले जनाएको छ ।


प्रहरीले विष्टको साथबाटै अनुगमन अधिकृत लेखिएको स्ट्याम्प छाप १ थान, आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेलीहरू, राजस्वसम्बन्धी किताब, आन्तरिक राजस्व कार्यालयको ७ थान परिचय पत्र र नगद ८४ हजार ७३० रुपैयाँ बरामद गरेको छ ।


प्रहरीले थापाथली बस्दै आएका धामीको डेरामा खानतलासी गरेको थियो । सो क्रममा आन्तरिक राजस्व कार्यालय लेखिएको रसिद ४९ ठेली, रोजगारी आवेदन फारामहरू, इम्प्लोइमेन्ट एग्रीमेन्ट फारामहरू, लेटर प्याड, आन्तरिक राजस्वको परिचयपत्र, सीपीयू १ थान, डीआर एकाउन्ट ट्याक्स सोलुसन लेखिएको स्ट्याम्प १ थान पनि बरामद गरेको छ ।


उनीहरूले होटेल तथा रेष्टुरेन्टले कर छली गरेको र नगद जरिवाना तिर्नुपर्ने भन्दै कर कार्यालय लाजिम्पाटबाट आएको बताउने गरेका थिए । गिरोहले रसिद समेत काटेको देखिएको प्रहरीले जनाएको छ ।


विगत चार दिनदेखि बसपार्क इलाकाका होटेल, लज तथा फुटपाथ पसलबाट रकम असुलेको प्रारम्भिक अनुसन्धानबाट देखिएको काठमाडौंका प्रमुख एसएसपी बोहोराले बताए । गिरोहले मोबाइल पेबाट ५ लाख ८ हजार ६४० रुपैयाँ सङकलन गरेको खुल्न आएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ