Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले धान नकिनेपछि पर्साका किसान आन्दोलित

आइतबार, मंसिर २५, २०७९

वीरगन्ज–सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद नगरेको विरोधमा पर्साका किसानहरू आन्दोलित भएका छन् ।


वीरगन्जमा आइतबार नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघको अगुवाइमा किसानहरूले प्रदर्शन गर्दै आन्दोलन थालेका हुन् । सरकारले धानको समर्थन मूल्य तोकेर पनि त्यसको कार्यान्वयन नगरेको तथा अहिले गहँ, खेतीका बेला भइसक्दा पनि मलको सहज आपूर्ति नगरेको भन्दै किसानहरू सरकार बिरुद्ध आन्दोलनमा उत्रिएका हुन् । 
गत १६ कात्तिकमा बसेको सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठकले यस वर्षको लागि धानको समर्थन मूल्य निर्धारण गरेको थियो । जसअनुसार मोटा धानको मूल्य प्रतिक्वीन्टल २ हजार ९६७ रुपैया र मध्यम धानको मूल्य ३ हजार १२८ रुपैया निर्धारण गरिएको छ ।


तर सरकार आफैंले मूल्य निर्धारण गरेको महिना दिन बित्न लाग्दा पनि खाद्य गुणस्तर तथा व्यापार कम्पनी लिमिटेडले किसानसँग धान खरिदको प्रक्रिया नै थालेको छैन ।


किसानहरूले आइतबार वीरगन्जको घण्टाघर चोकबाट जुलुश निकालेर श्रीपुरस्थित खाद्य गुणस्तर तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगन्जमा पुगेर आधा घण्टा धर्ना दिएका हुन् । 


सरकारी निकायले धान खरिद प्रक्रिया सुरु नगरेका कारण बिचौलिया व्यापारीलाई सस्तो मूल्यमै  बेच्न बाध्य भएको किसानले बताएका छन् । किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष शहरुम राउत गद्दीले नेपाललाई किसानको देश भनिए पनि त्यो भनाइमा मात्र सीमित भएको गुनासो गरे । 


अखिल किसान महासंघका जिल्ला अध्यक्ष अमर प्रसाद यादवले सरकारले समयमा निर्धारित मूल्यमा नलिँदा विचौलियाले फाइदा लिरहेको बताए ।


खाद्य गुणस्तर तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगन्जका सूचना अधिकारी समिर दहालले यो महिनाको अन्तिमसम्म धान किन्ने कार्य सुरु हुनुपर्ने बताए । 

 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्