गुल्मीको कफी जापान र फ्रान्स निर्यात
गुल्मी– गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत निर्यात हुँदै आएको छ ।
सङ्घका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक ५ मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । जसबाट सङ्घले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ ।
कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बिउ स्रोत केन्द्रका रूपमा काम गरिरहेको बताए । कूल ६ हेक्टर क्षेत्रफलमा बिउका लागि कफी खेती गरिएको छ । अन्तर्राष्ट्रियस्तरमा निर्यात हुन थालेपछि कफीखेतीमा किसानको आकर्षण बढेको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका–८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षे सरोज बेलबासे व्यावसायिक कफीखेतीमा छन् । आँपचौरको पिपलारुखमा २ सय रोपनीमा डेढ वर्षदेखि कफीखेती गरिरहेका उनीहरूले २० हजार कफीका बिरुवा रोपेका छन् ।
‘विदेशमा पसिना बगाउनुभन्दा स्वेदशमै मिहेनत गरौँ भन्ने सोचले कफीखेती सुरु गरेका हौँ’, बेलबासेले भने । मनोज र सरोजले गरेको कफीखेतीबाट हाल १ हजार बिरुवाले उत्पादन दिइरहेका छन् ।
मनोजका अनुसार गतवर्ष यसबाट ७ लाख आम्दानी भएको थियो । कफीखेतीमा उनीहरूले हालसम्म ५१ लाख लगानी गरिसकेका छन् । कफीखेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरणसमेत आफैँ गर्दै आएका छन् । सिजनमा ३५ जना र अन्य समयमा दैनिक ५ जनालाई उनीहरूले रोजगारीसमेत दिएका छन् ।
उनीहरू मात्रै होइन, आँपचौरका अधिकांश परिवार कफीखेती होमिएको छ । केहीले व्यावसायिक रूपमा त केहीले घरखर्चका लागि मात्रै पनि कफीखेती गरेका छन् ।
गुल्मीको आँपचौर कफीको उद्गमस्थल हो । मुसिकोट नगरपालिकारू५ आँपचौरबाटै नेपालमा कफीको विस्तार भएको मानिन्छ । आँपचौरका स्थानीय हिरा गिरीले १९९५ सालमा कर्मथलो बर्माको सिन्धु प्रान्तबाट फर्किंदा कफीको बीउ लिएर रोपेपछि पहिलो पटक नेपालमा कफी खेतीको सुरुआत भएको हो ।
कफीको सुरुआत भएको झण्डै ३ दशकसम्म पनि बिरुवा अन्योलमै थियो । त्यसपछि नेपाल सरकारले भारतबाट कफीको बीउ ल्याएर वितरण गरेपछि आँपचौरमा कफीको व्यावसायिक खेती सुरु भएको स्थानीय दुर्गा खरेलको भनाइ छ ।