क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पद छाड्ने
काठमाडौँ–विश्वकप लिग–२ अन्तर्गत नामिबिया सिरिजमा नेपाली क्रिकेट टोलीले गतिलो प्रदर्शन नगरेपछि राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले पद छाड्ने भएका छन् ।
प्रशिक्षक प्रभाकरले पनि लामो समय नेपाली टिमको प्रशिक्षक रहन नचाहेको र क्यानले पनि लिग–२ मा नेपालको खेल र नतिजा गतिलो नभएसँगै नयाँ प्रशिक्षक ल्याउनुपर्ने सुझाव सबैतिरबाट पाएकाले प्रभाकरले अब राष्ट्रिय टिम छाड्ने क्यानसम्बद्ध स्रोतले बताएको छ ।
विश्वकप लिग–२ मा नामिबियामा नेपाली टोलीको प्रदर्शनबारे नेपाल क्रिकेट संघ (क्यान) का महाप्रवन्धक वृतान्त खनाल र म्यानेजर विनोद दासले क्यानलाई प्रशिक्षक प्रभाकरका बारेमा ‘रिभ्यु’ गर्नुपर्ने प्रतिवेदन बुझाएका थिए ।
क्यानका महाप्रवन्धक खनालका अनुसार लिग–२ का खेलपछि प्रतिवेदन बुझाउने प्रक्रियाअन्तर्गत नै प्रशिक्षकका बारेमा रिभ्यु गरिएको हो । यो क्यानको नियमित प्रक्रिया भएकाले नतिजापछि प्रतिवेदन बुझाउने नियमित प्रक्रिया पूरा गरेको उनको भनाइ थियो ।
क्यान स्रोतका अनुसार प्रशिक्षक प्रभाकर अब राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किने छैनन् । क्यानले यसबारे आधिकारिक रूपमा केही भनेको छैन । प्रभाकरले क्यानसँग सहमतिमा नै पद छाड्न लागेकाले बैठकपछि क्यानले यसबारे जानकारी दिने बताइएको छ ।
नामिबियामा भएको नामिबिया‚ स्कटल्याण्ड र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले एउटा खेलबाहेक सबै खेल हारेको थियो । एउटा खेल भने पानी परेर खेल हुन नसक्दा नेपालले १ अङ्क पाएको थियो ।