Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप फुटबलको सेमिफाइनल आज

अर्जेन्टिना र क्रोएसिया खेल्दै, यस्तो छ विगत
मंगलबार, मंसिर २७, २०७९

काठमाडौँ–कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू मंगलबारबाट सुरु हुँदैछ । पहिलो सेमिफाइनल खेलमा मंगलबार राति अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । कतारको दोहास्थित लुजेल रंगशालामा नेपाली समय अनुसार राति पौने १ बजे यो खेल सुरू हुनेछ ।


क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुट आउटमा हराउँदै अर्जेन्टिना तथा ब्राजिललाई पेनाल्टी सुट आउटमै हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेका हुन् ।


यसअघि सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिना तेस्रो पटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको छ । यस्तै, सन् १९९१ मा युगोस्लाभियाबाट छुट्टिएर स्वतन्त्र राष्ट्र बनेको क्रोएसियाले सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको थियो । त्यतिबेला तेस्रो स्थान लिन सफल क्रोएसिया गत विश्वकपको उपविजेता रहेको थियो भने यसपटक इतिहासको पहिलो उपाधिको खोजीमा छ ।


यो विश्वकपलाई विश्व फुटबलका सर्वकालिन महान खेलाडीमध्येका एक लियोनल मेस्सीको अन्तिम विश्वकपको रुपमा हेरिएको छ । यसैगरी, क्रोएसियाका पनि अहिलेसम्मकै सफल खेलाडी लुका मोड्रिचको लागि पनि कतार विश्वकप अन्तिम अवसर हुनसक्छ ।


विश्वकपको दोस्रो सेमिफाइनल खेलमा भोलि बुधबार राति साविक विजेता फ्रान्सले मोरक्कोको सामना गर्नेछ । क्रोएसियाले अहिलेसम्म विश्वकपको उपाधि जितेको छैन् । अघिल्लो संस्करणको विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । अर्जेन्टिना र क्रोएसियाले एक आपसमा यसअघि २ वटा विश्वकपमा प्रतिस्पर्धा गरेकोमा दुवै टोली एक÷एक खेलमा विजयी भएका छन् ।


सन् १९९८ को विश्वकपमा अर्जेन्टिनाले क्रोएसियालाई १–० गोलले हराएको थियो । तर सन् २०१८ को विश्वकपमा भने क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोलले हराएको थियो । एकअर्कासँगका पाँच वटा खेलमा क्रोएसियाले ७ गोल र अर्जेन्टनाले ५ गोल गरेका छन् ।  
पछिल्ला ४१ खेलमा अर्जेन्टिनाले २८ खेल जितेको छ, १२ खेलमा बराबरी गरेको छ भने एक खेल मात्रै हारेको छ ।


विश्वकपको कुरा गर्दा क्रोएसियाको नतिजा निकै राम्रो रहेको छ । विश्वकपमा पछिल्ला १२ वटा खेलमा एउटा मात्रै हारेको छ भने ५ वटामा जित र ६ वटा खेल बराबरीमा सकिएका छन् । विश्वकपका नकआउट चरणका १० खेलमध्ये क्रोएसियाले ८ खेल जितेको छ ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने भएका छन् ।

यो सेमिफाइनल खेलपछि मेस्सीले जर्मनीका लोथर मथाउसको कीर्तिमान बराबरी गर्नेछन् । विश्वकप इतिहासमा जर्मनीका मथाउसले सर्वाधिक २५ खेल खेलेको कीर्तिमान छ । अर्जेन्टिनाका कप्तान मेस्सी र क्रोएसिया कप्तान लुका मोड्रिचका लागि यो अन्तिम विश्वकप हो ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्