‘नेपालका देवीदेवताहरू’ नामक कला प्रर्दशनी सम्पन्न
काठमाडौँ–‘नेपालका देवीदेवताहरू’ नामक कला प्रर्दशनी सम्पन्न भएको छ । नेपाल आर्ट काउन्सिल र नेपाल हस्ताकला महासंघको वर्षिक उत्सवको अवसरमा काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषदमा ११ मङ्सिरदेखि सुरू भएको प्रर्दशनी मङ्लबार सम्पन्न भएको हो । प्रदर्शनीमा १८० कलाकारहरूले बनाएका २४० कलाकृति समावेश गरिएको नेपाल कला परिषदका क्युरेटर स्वस्ती राज भण्डारीले जानकारी दिइन् ।
पछिल्लो समय नेपालका युवा पुस्तामा कला र संस्कृतिका विषयमा ज्ञान लोप हुदैं गएको कारण उनीहरूलाई त्यसको ऐतिहासिक महत्वका बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी गरिएको भण्डारीले बताइन् ।
परिषदको ६० औँ वार्षिकोत्सव र महासंघको ५० औँ स्वर्ण वर्षको उपलक्ष्यमा ‘नेपालका देवीदेवताहरू’ नामक कला प्रदर्शनी भएको हो । प्रदर्शनीमा विभिन्न धर्मका देवीदेवताको कला राखिएको छ । यसले नेपाली कला, संस्कृति र धर्मको संरक्षण तथा सम्बद्र्धन गर्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य एससी सुमनले बताए ।
उनका अनुसार प्रर्दशनीमा हिन्दू र बौद्ध धर्मका आधारभूत सिद्धान्तहरू, अस्त्र देवताहरू, लोकेश्वर, सम्भर र योगिनी, तारा, सिद्ध पुरुष, महाकाल, भैरव तथा अन्य बौद्ध देवताहरूको प्रतिमा राखिएको थियो । यस्तै वैष्णव र विष्णु अवतार, शैव, शक्ति, बुद्ध र पञ्च बुद्ध, शाक्यमुनि बुद्धको जीवनसँग सम्बन्धित तस्विर पनि प्रदर्शन गरिएको थियो ।