Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुकुम अस्पतालमा हाडजोर्नीसम्बन्धी विशेषज्ञ सेवा दिइने

बुधबार, मंसिर २८, २०७९

रुकुम–रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा हाडजोर्नीसम्बन्धी विशेषज्ञ सेवा सुरु गर्ने तयारी थालिएको छ । विशेषज्ञ सेवा सञ्चालनका लागि आवश्यक आधारभूत उपकरण खरिद प्रक्रिया अगाडि बढेको अस्पतालले जनाएको छ ।


अस्पताल प्रमुख एवं हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सुशील पोखरेलले आफ्नो नेतृत्वमा यो सेवाका पहल थालेका हुन् । एनेस्थेसिया मेसिन, फ्याक्चर टेबल, अटो क्लेभ, सी–आरएमलगायत ट्रमा सर्जनका लागि आवश्यक पर्ने आधारभूत उपकरण खरिद गर्न २ करोड १५ लाख रुपैयामा ठेक्का आह्वान गरिएको अस्पताल प्रशासनले जनाएको छ । फागुनको पहिलो साताबाट विशेषज्ञ सेवा सुरु गर्ने अस्पतालको तयारी छ ।


हाल जिल्ला अस्पतालबाट यस्ता बिरामीको सामान्य उपचार गर्नेबाहेक अरुलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता छ । यो सेवा सुरु भएपछि रुकुम पश्चिमसँगै रुकुम पूर्व, रोल्पा, डोल्पा, जाजरकोट र सल्यानका बिरामीलाई राहत पुग्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर कुसारीले बताए । जम्मा २५ शै्याको जिल्ला अस्पतालबाट हाल नियमित उपचारसँगै प्रसुतीसम्बन्धी सेवा सञ्चालनमा छ । अस्पतालको स्तरोन्नति गरेर ५० शै्याको बनाउनका लागि भौतिक निर्माणको काम भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्