इन्दु शङ्कर चिनी उद्योग पुस पहिलो साताबाट सञ्चालनमा आउने
सर्लाही–सर्लाहीको हरिवन नगरपालिका –११ मा रहेको इन्दु शङ्कर चिनी उद्योग पुस पहिलो साताबाट पुनः सञ्चालनमा आउने भएको छ ।
उद्योगले बुधबार एक कार्यक्रमकाबीच डोङ्गा पूजा गरी पुसको पहिलो साताबाट उद्योग पुनः सञ्चालनमा आउन लागेको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले जानकारी दिए । उनका अनुसार हरेक वर्ष पुस पहिलो साताबाट सञ्चालन हुँदा आइरहेको उद्योगले यस वर्ष पनि सोहि समयबाट सञ्चालन हुन लागेको हो ।
किसानहरूको भुक्तानी निरन्तर गर्दै उद्योगले यस वर्ष करिब ४० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ ।
उद्योगका प्रशासन शाखा प्रमुख ठाकुर नेपालका अनुसार यस वर्ष जिल्लामा उखु उत्पादन घटे पनि ४० लाख क्विन्टल उखु क्रसिङ्ग गर्ने र यस वर्षका लागि उखुको मूल्य उद्योगले ५२० र सरकारले ७० रुपैया किसानहरूलाई दिइने छ । तर जिल्लाका किसानहरूले उखुको मूल्य ७०५ रुपैया पाउनु पर्ने माग राखेका उखु उत्पादक किसान राजकुमार उप्रेतीले बताए । चिनीको मूल्य हरेक वर्ष बढ्ने तर उखु उत्पादक किसानहरूले सधैं घाटा खाएर उखु बेच्नु परेका कारण उखुको मूल्य बढाउन आफूहरूले माग राखेको उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।
जिल्लामा ३ वटा चिनी मिल भए पनि अन्नपूर्ण चिनी उद्योग र महालक्ष्मी चिनी उद्योगले किसानहरूको गतवर्ष कै भुक्तानी गर्न बाँकी रहेका कारण सञ्चालनमा आउन सकेका छैनन् । जिल्लामा उत्पादन भएका २६ लाख १० हजार क्विन्टल उखु गत वर्ष उद्योगले क्रसिङ् गरेको थियो । उखु मध्ये करिब ४० लाख क्विन्टल उखु इन्दु शङ्कर चिनी उद्योगले क्रसिङ् गर्ने योजना बनाएको छ ।
पुस पहिलो साताबाट सञ्चालन हुने यो उद्योगले वैैशाखसम्म सञ्चालन रहने पनि उद्योगले जनाएको छ । १ पुसमा गते किसानहरूलाई पूर्जी वितरण गर्ने र ५ पुसबाट उखु सङ्कलन गरि उखु क्रसिङ् सुरु गरिने उद्योगले जनाएको छ ।
यसैबीच मिलगेट उखु उत्पादक समिति सर्लाहीमा आवद्ध उखु उत्पादक किसानहरूले उद्योगलाई उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपैया काउयम गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
निवर्तमान प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेतीको नेतृत्वमा मिलगेट उखु उत्पादक समितिले उद्योगलाई ज्ञापनपत्र बुझाउँदै क्रसिङ् सिजन २०७९÷०८० मा उखुको मूल्य प्रति क्विन्टल ७०५ कायम गर्न माग गरेको उद्योगका उखु प्रवन्धक रजकले जानकारी दिए । उनका अनुसार केही वर्षदेखि चिनीको मूल्य लगातार वृद्धि भइरहेकाले चिनीको मूल्य वृद्धिअनुसार उखुको मूल्य पनि वृद्धि गर्न किसानहरूले माग गरेका हुन ।
ज्ञापनपत्रमा उखु किसानहरू घाटा सहन नसकी उखु खेतीबाटै पलायन हुन थालेकाले यसतर्फ गम्भीर बन्न ध्यानाकर्षण गराइएको छ ।