Nic Ad Nic Ad
Nic Ad Nic Ad

३ वर्षदेखि लिफ्ट सिँचाइ बन्द

बिहीबार, मंसिर २९, २०७९

कपिलवस्तु–कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ९ गुडरुङ खोला लिफ्ट सिँचाइ योजना ३ वर्षदेखि बन्द भएको छ । निर्माण सम्पन्न भएपछि रेखदेख नहुँदा लिफ्ट सिँचाइ योजना ३ वर्षदेखि बन्द भएको हो ।


बुद्धभूमि नगरपालिका तथा लुम्बिनी प्रदेश सरकारले चासो नदिँदा निर्माण सम्पन्न भएको योजनामा क्षति पुगेको हो । नगरपालिकाको वडा –८ र ९ का करिब ५ सय विघा खेतीयोग्य जमिनलाई सिँचाइ गर्न पुग्ने योजनामा क्षति हुँदा कृषकहरू महँगो इन्धन खर्च गरी पम्पसेटबाट सिँचाई गर्न बाध्य छन् ।


करोडौँको लागतमा लिफ्ट सिँचाइ योजना निर्माण हुँदा पनि जिम्मेवार निकायले अपनत्व नलिँदा कृषकहरूले सास्ती खानु परेको स्थानीयको गुनासो छ । दैनिक १ हजार रुपैयाको डिजल खरिद गरेर सिँचाई गर्नु परेको उनीहरू बताउँछन् ।


रेखदेख नहुँदा केही उपकरणमा क्षति पुगेको लिफ्ट सिँचाइ योजनाको अवलोकन गर्न पुगेकी लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले बताए । उनले लिफ्ट सिँचाई योजनामा मर्मत गरी पुनः सुचारु गर्न सकिने भएकाले सञ्चालनका लागि पहल गर्नेमा जोड दिइने बताए । लिफ्ट सिँचाइ योजना २०७३ सालमा निर्माण सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्