भारतमा नेपालीले गरे आफ्नै साथीलाई प्रेसर कुकरले हानेर हत्या
चण्ढीगढ– भारतको चण्ढीगढमा झगडा हुँदा ५२ वर्षीय नेपाली नागरिकले आफ्नो साथीलाई प्रेसर कुकरले हानेर हत्या गरेका छन् ।
घटनापछि अभियुक्त चेतनारायण फरार भएपनि बुधबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।
चेतनारायण र पीडित ४० वर्षीय अम्बरबहादुर दुवै चण्डीगढमा वेटरको काम गर्थे ।
मंगलबार राति मदिरा सेवन गर्ने क्रममा अम्बरबहादुरले चेतनारायणलाई गालीगलौज गरेपछि दुईजनाबीच झगडा भएको थियो । त्यसपछि चेतनारायणले अम्बरबहादुरको टाउकोमा प्रेसर कुकरले पटक पटक प्रहार गरी भागेका थिए।
दुवैलाई वेटरको रूपमा काम गर्ने ठेकेदारले बुधबार बिहान अम्बरहादुरलाई फेला पारेर प्रहरीलाई खबर गरेको अनुसन्धानकर्ताले बताए । पीडितलाई सेक्टर १६ को जीएमएसएचमा लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।
नारायण विरुद्ध भारतीय दण्ड संहिताको धारा ३०२ (हत्या) अन्तर्गत आईटी पार्क पुलिस स्टेशनमा मुद्दा दर्ता गरिएको थियो र उनलाई साँझ शास्त्रीनगर लाइट पोइन्ट नजिकबाट पक्राउ गरिएको थियो। उनलाई बिहीबार अदालतमा पेश गरिने छ ।