‘टनेल’ खेती तर्फ किसान आकर्षित
सल्यान–जिल्लाका किसान बेमौसमी तरकारी खेतीप्रति आकर्षित भएका छन् । बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि १० वटै स्थानीय तहका किसानका घरमा प्लाष्टिक घर निर्माण भइरहेका छन् । हिउँदे मौसममा ताजा तरकारीको मूल्य राम्रो हुने भएकाले किसानले प्लाष्टिक घर निर्माण गरी उत्पादन गर्न थालेका हुन् ।
कपुरकोट गाउँपालिका–३ का कृषक थमन गिरीले ११ रोपनी जमिनमा ३६ वटा टनेल निर्माण गरेर तरकारी खेती गरिरहेका छन् । बाहिर र टनेलभित्र खेती गर्नुमा धेरै फरक पर्ने उनी बताउँछन् । ‘१९ वटा फलाम प्रयोग भएका र १७ वटा काठ प्रयोग भएका टनेलमा मैले तरकारी खेती गरिरहेको छु । टनेलभित्र तरकारीलाई झरी, असिना, घाम, हुरी बतासले असर नगर्ने र रोगकीरा पनि नलाग्ने भएकाले अर्गानिक उत्पादन हुन्छ ।’
टनेलमा टमाटर, भेडे खुर्सानी, काँक्रा लगायतका तरकारी तथा फलफूल उत्पादन गर्न सकिने उनको भनाइ छ । अहिले वार्षिक १० लाख रुपैयासम्म आम्दानी गर्दै आएकाले थमनले वार्षिक ३० देखि ३२ लाख रुपैयासम्म कमाइ गर्ने लक्ष्य रहेको उनले बताए । गिरी कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यावसायिक तरकारी खेती गरिरहेका छन् ।
कपुरकोट –४ गाँडापानीका किसान किरण कठायतले पनि टमाटर, काउली, आलु, बन्दा लगायतका तरकारी टनेलभित्र फलाउँछन् । इजरायल गएर तरकारी खेतीको अनुभव समेत सँगालेका उनले त्यहाँको प्रविधि प्रयोग गरेर टनेलमा तरकारी खेती गरिरहेका छन् ।
व्यावसायिक रूपमा तरकारी तथा फलफूल खेती गर्न चाहने किसानलाई सरकारी पक्ष तथा विभिन्न परियोजनाबाट पनि सहयोग हुने गरेको छ । तरकारीको गुणस्तर र उत्पादकत्व पनि बढ्ने भएपछि जिल्लाको त्रिवेणी गाउँपालिकाले किसानलाई टनेल निर्माणका लागि प्लाष्टिक सहयोग गर्दै आएको छ । गाउँपालिकाको कृषि विकास शाखाका अनुसार पालिकाभर करिब ५०० किसानले टनेलमा तरकारी खेती गरिरहेका छन् । टनेल भित्र उत्पादन गर्दा फाइदा बढी हुने भएपछि किसान टनेलमा खेती गर्न आकर्षित भएको कृषि विकास शाखा प्रमुख अधिकृत लक्ष्मी चन्दले बताइन् । ‘प्लाष्टिकको घरभित्र तरकारी खेती गर्दा थोरै क्षेत्रफलबाट धेरै आम्दानी लिन सकिने, रेखदेख र सुरक्षा गर्न पनि सजिलो हुने भएकाले आकर्षण बढ्दै गएको छ । पालिकाले पनि नियमित रूपमा सहयोग गर्दै आइरहेको छ ।’
यो वर्ष पनि ४५ किसानलाई टनेल निर्माणका लागि प्लाष्टिक सहयोग गर्ने कार्यक्रम रहेको कृषि विकास शाखा प्रमुख चन्दले जानकारी दिइन् । जिल्लाभर ३ हजार भन्दा बढी प्लाष्टिक घर रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।