सत्ता समीकरणबारे प्रचण्ड र अमरेश कुमार सिंहबीच छलफल
काठमाडौँ–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र स्वतन्त्रबाट निर्वाचित अमरेश कुमार सिंहबीच सत्ता समीकरणबारे छलफल भएको छ । प्रचण्ड निवास खुमलटारमा उनीहरुबी सत्ता समीकरण र भावी सरकार गठनका विषयमा छलफल भएको हो ।
सर्लाही –४ बाट निर्वाचित अमरेश कुमार सिंह पछिल्लो समय नयाँ पार्टी गठनको तयारीमा छन् । रौतहट –३ बाट स्वतन्त्र निर्वाचित प्रभु साहसँग मिलेर सिंह पार्टी गठनको तयारीमा लागेका हुन् ।
सिंह हालै नयाँ दिल्लीबाट फर्केका हुन् । नयाँ दिल्लीबाट फर्किए लगतै प्रचण्डसँग भेट भएको हो । नयाँदिल्ली जानुअघि सिंहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।
प्रचण्डले स्वतन्त्र र साना दलहरूलाई एकीकृत गरी शक्ति निर्माण गर्ने अभियानमा छन् । त्यसैका लागि पछिल्लो समय प्रचण्डले साना दलका नेताहरूसँग सम्वाद गरिरहेका छन् ।
यसअघि प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणसँग बिहीबार बिहान छलफल गरेका थिए ।
त्यस्तै प्रचण्डको दूत बनेर महासचिव देव गुरुङले पनि सत्ता समीकरणबारे एमाले अध्यक्ष ओलीसँग मंगलबार भेटवार्ता गरेका थिए । ती भेटहरुमा सरकार गठनका सम्बन्धमा छलफल भएको छ ।