Nic Ad Nic Ad
Nic Ad Nic Ad

विषाक्त रक्सी पिउँदा बिहारमा २२ जनाको मृत्यु

बिहीबार, मंसिर २९, २०७९

काठमाडौँ– भारतको बिहार राज्यको सारण जिल्लाका तीनवटा गाउँमा विषाक्त मदिरा पिउँदा २२ जनाको मृत्यु भएको छ भने २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ। राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्य सरकारको अनुमति नलिइ स्थानीय तहमा उत्पादन एवम् बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्। 


महिला समूहहरूले मदिरा उत्पादन तथा बिक्रीवितरणविरुद्ध अभियान चलाएपछि विहार राज्यमा सन् २०१६ मा मदिराको बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको थियो । प्रहरीका अनुसार अस्पताल भर्ना भएका २० मध्ये धेरैले आँखाको ज्योति गुमाएका छन् । गैरकानुनीरूपमा मदिरा बिक्री गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ । सारण जिल्ला राज्यको राजधानी पटनाबाट करिब ६० किलोमिटर उत्तरमा अवस्थित छ । 

 

अवैधरूपमा बनाइएको मदिरा सेवनबाट हुने मृत्युलाई भारतमा सामान्य  मानिन्छ ।  अवैधरूपमा उत्पादन हुने मदिरालाई कडा बनाउन कीटनाशकलायत रसायन प्रयोग गरिन्छ । यसरी उत्पादित मादक पदार्थ कम मूल्यमा बिक्री हुने गरेको छ । कर छलेर अवैध तरिकाले उत्पादन गर्ने यो व्यवसाय लाभदायक उद्योग भएको छ । 

 

यो वर्षको प्रारम्भमा विषाक्त मदिरा पिउँदा पश्चिम भारतको गुजरात राज्यमा कम्तीमा २८ जनाको मृत्यु भएको थियोभने ६० जना बिरामी भएका थिए । गुजरातमा पनि मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ । सन् २०२० मा भारतको उत्तरी पञ्जाब राज्यमा पनि विषाक्त मदिरा पिएर एक सय २० जनाले ज्यान गुमाएका थिए । राससरएपी

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  २०:३१
प्रतिक्रिया दिनुहोस्