Nic Ad Nic Ad
Nic Ad Nic Ad

नवनिर्वाचित सांसदलाई लुम्बिनी विकास कोषको सम्मान

शुक्रबार, पुस १, २०७९

सिद्धार्थनगर । लुम्बिनी विकास कोषले रुपन्देहीको निर्वाचन क्षेत्र–५ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ। प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित सिके गुप्तालाई बिहीबार कोषले सम्मान गरेको हो।


कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई र सदस्य सचिव सानुराजा शाक्यले खादा ओढाएर उहाँहरूलाई सम्मान गरे। सो अवसरमा सांसद घिमिरेले विश्वमा लुम्बिनीबाटै नेपाल चिनाउन सकिने भएकाले यसको विकासमा सबैपक्षबीच हातेमालो जरुरी रहेको बताए। लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीको विकास निर्माणलाई अगाडि बढाउने विश्वास दिलाउँदै उनले कोषको गुरुयोजना सम्पन्न गर्न सङ्घीय सांसदको रुपमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 


निर्वाचन क्षेत्र–५(२) बाट निर्वाचित प्रदेशसभा सदस्य गुप्ताले लुम्बिनीको विकासका लागि आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउँदै लुम्बिनीमा एक सुविधासम्पन्न अस्पतालको आवश्यकता रहेकाले त्यसका लागि सबैलाई एकजुट हुन आग्रह गरे। लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनी गुरुयोजना पूरा गर्नु नै आफूहरूको पहिलो प्राथमिकता रहेको बताए। उनले लुम्बिनी गुरुयोजना पूरा गर्नका लागि आवश्यक पर्ने बजेट उपलब्ध गराउनका लागि पहल गरिदिन अनुरोध गरे।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  ०६:३५
प्रतिक्रिया दिनुहोस्