फरक क्षमता भएका विद्यार्थीलाई प्रविधिको अभाव
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा रहेको तम्घास माध्यमिक विद्यालयमा बहिरा र बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन गराइन्छ। यहाँ जिल्लाको मालिकाबाहेक अन्य ११ पालिकाका ३० विद्यार्थी छन्।
विसं २०५९ देखि आवाससहित अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन सुरु गरिए पनि हालसम्म आधुनिक प्रविधिको व्यवस्था नहुँदा विद्यार्थी पुरानै शैलीमा पढ्न र सिक्न बाध्य छन्। यहाँ २० बहिरा अपाङ्गता र १० बौद्धिक अपाङ्गता भएका विद्यार्थी छन्। उहाँहरुलाई पूर्णरुपमा निःशुल्क आवासीय सुविधासहित विद्यालयले अध्यापन गराउँदै आएको छ।
भर्ना भएपछि प्रतिविद्यार्थी विद्यालयले सरकारबाट चार हजार पाउँछन्। चरणचरणमा विभिन्न तालिम लिएका शिक्षकले साङ्केतिक भाषाबाट विद्यार्थीलाई पढाउनुहुन्छ । जिल्लामा दुवै प्रकारका क्षमता भएका विद्यार्थीलाई पढाउने एक मात्र विद्यालय उपल्लो तम्घास हो ।
हालसम्म एक सयभन्दा बढी विद्यार्थी उपल्लो तम्घासमा कक्षा ५ सम्म पढेर बागलुङ, पोखरा, भैरहवा र काठमाडौँ जाने गरेका छन् । यही विद्यालयले उत्पादन गरेका चार विद्यार्थी हाल कोरिया रहेको पूर्वस्रोत शिक्षक राममणी पन्थीले बताए। थुप्रै विद्यार्थीले नेपालमै सीपमूलक व्यवसाय पनि गरिरहेका छन् ।
उपल्लो तम्घास माध्यमिक विद्यालयले कम्तीमा छ वर्ष पुगेको र १६ वर्ष ननाघेका विद्यार्थीलाई समावेश गरेर पढाइरहेको छ। बढीमा ५० यस्ता फरक क्षमता भएका विद्यार्थी यस विद्यालयले अध्यापन गराउन सक्छ। यस विद्यालयको यस्तो सुविधाका कारण अपाङ्ता भएका बालबालिकाका अभिभावक निराश हुनुपरेको छैन्।
बालबालिकाको स्याहारसुसार गरिरहनुभएकी रेसुङ्गा नगरपालिका–७ की सीता घर्तीले सुरुमा बालबालिकाले खान र बोल्न नजान्ने हुँदा केही समस्या भए पनि सिकेपछि सहज भइरहेको बताए। अपाङ्गता भएका बालबालिकालाई स्याहारसुसार गर्न पाउँदा खुसी लागेको भन्दै धर्म गर्न योबाहेकको अरु कर्म गर्न नपर्ने उहाँ बताउनुहुन्छ । उनीसहित तीन जनाले बालबालिकाको हेरचाह गर्दै आएको छ ।
घरमा आफ्नै भाषा सिकाउने कारण विद्यालयमा आउँदा साङ्केतिक भाषा नजान्दासम्म विद्यार्थीलाई सिकाउन ग्राहो हुने स्रोत शिक्षक ज्ञानेन्द्र राज मरासिनीले बताए । “सुरुमा विद्यालय आउन ग्राहो मान्ने विद्यार्थी साङ्केतिक भाषा सिकेपछि घरमा बस्न ग्राहो मान्छन्”, उनी भन्छन्, “शैक्षिक सामग्री धेरै प्रयोग गरेर सिकाउनुपर्छ”, उनले भने ।
सिकाउँदै गएपछि सहज हुने शिक्षक मरासिनीको भनाइ छ । अन्य बोलेर पढाउने विद्यार्थीभन्दा यी साङ्केतिक रुपमा पढाउने विद्यार्थी सिकाइमा बढी सक्रिय हुने गरेको उनले बताए ।
विद्यालयका प्रधानाध्यापक पिङ्की घिमिरे भुसालले अपाङ्गता भएका विद्यार्थीलाई लामो समयदेखि अध्यापन गराउँदै आएपनि आधुनिक प्रविधिको अभाव रहेको बताए । “हामीले सक्दो र जानेको त सिकाइरहेका छौँ”, उनी भन्छन्,
“अहिलेका प्रविधिसँग विद्यार्थीलाई साक्षात्कार गराउन सकेका छैनौँ”, उनले गुनासो गरे। आफूहरुको इच्छा भएर पनि त्यस्तो बाताबरण बन्न नसकेको उनको भनाइ छ।
जिल्लाभर भएका अपाङ्गता विद्यार्थीलाई लेखाजोखा समिति गुल्मीले हेर्दै आएको छ। समितिका संयोजक राममणी पन्थीले सङ्घीयता कार्यान्वयनसँगै बनेका गाउँगाउँका सरकार अपाङ्गताप्रति उदासीन बनेको बताए।
“अपाङ्ताका लागि सङ्घीयता अभिसाप बनेको छ”, उनी भन्छन्, “अहिले त आफ्नो नजिक भएकालाई रातो कार्ड दिने वास्ताविक अपाङ्तालाई बेवास्ता गर्ने गरिएको छ”, उनले भने ।
गाउँगाउँमा भएका बहिरा अपाङ्गता र बौद्धिक अपाङ्गता भएका बालबालिका खोजेर उपल्लो तम्घास माध्यमिक विद्यालयमा निःशुल्क पढाउने र विद्यार्थीका लागि पनि आधुनिक प्रविधिको व्यवस्थामा पहल गर्ने उनको भनाइ छ।