देशभर चिसो बढ्दै छ, स्वास्थ्यको ख्याल गरौँ: चिकित्सक
काठमाडौँ– देशभर तापक्रम घट्दै गएको छ । घट्दो तापक्रम र आद्रतामा छाला, स्वासप्रश्वास, झाडापखालादगायतले स्वास्थ्यमा समस्या देखिन्छ ।
डा.अभिजित अधिकारीका अनुसार जाडोयाममा स्वासप्रश्वास र नाकबाट रगत बग्ने समस्या देखिन्छ । उनका अनुसार सुख्खा हावाका कारण आखाँ, छाला र नाकमा समस्या देखिन सक्छ । जाडोयाममा शरीरलाई चिसोबाट बचाउनु नै रोगबाट टाढा राख्ने पहिलो उपाय भएको अधिकारीको भनाइ छ ।
“अधिकांश समय कोठाको तापक्रम २६ डिग्री राख्न उपयुक्त हुन्छ । तापक्रमसँगै हावाको आद्रताको पनि विशेष ख्याल राख्नुपर्छ”, उनी भन्छन्, “नाक, कान, औँलाको चुच्चो संवेदेनशिल हुन्छन् त्यसैले चिसो पानी प्रयोग कमै गर्नुपर्छ, भिडभाडमा हिँड्दा माक्सको प्रयोग गरे यस्ता समस्याबाट बच्न सकिन्छ ।”
चिकित्सकका अनुसार चिसोमा छालासम्बन्धी समस्याबाट बच्न मोस्चराइजर र जेलयुक्त क्रिमको प्रयोग गर्न सकिन्छ । यस्तै, नाक सुख्खा हुने समस्या भएमा कोठामा खाली भाँडोमा पानी राख्दा आद्रता सन्तुलन हुने गर्छ । रासस