फलफूलले चिसो लाग्छ भन्नु खानाप्रतिको भ्रम हो: चिकित्सक
काठमाडौँ– चिकित्सकका अनुसार जाडोयाममा शरीरको तापक्रम मिलाउन खानाको विशेष भूमिका हुन्छ । पोषणविद् डा उमा निरौला भन्छन्, “जाडोयाममा शरीरको काम बढ्छ, त्यसैले बाहिरको तापक्रम चिसो हुँदा शरीरले बढी ताप निकाल्नुपर्ने हुन्छ । ताप निकाल्नका लागि खानाको आवश्यकता पर्छ ।
“जाडोयाममा प्रशोधन नगरिएका खाना खानुपर्छ । पोसिलो र उच्च गुणस्तरको कार्बोहाइडेट, फाइबर र प्रोटिनयुक्त खाना खानुपर्छ”, डा निरौलाले भने, फापर, मकै, कोदो, गेडागुडी, सखरखण्ड, आलु, पिँडालु, गहत, सिमी, भट्मासलगायत खानुपर्छ ।
जाडोमा मौसमी फलफुल खाँदा रुघाखोकी लाग्छ भन्ने कुरा खानाप्रतिको भ्रम हो । मौसमी फलफुल त्यसमा पनि अमिलो फलफुल बढी मात्रामा खानुपर्छ । यी खानाले भाइरसँग लड्न सजिलो हुन्छ । चिया कफीको लत नबनाउन डा निरौलाको सुझाव छ ।
शारीरिक परिश्रम कम गर्ने ३० वर्ष माथिका उमेर समूहका व्यक्तिले चिनीको प्रयोग गर्न नहुने उहाँको सुझाव छ । खानामा चिल्लो पदार्थ पनि उत्तिकै आवश्यक हुन्छ । हिमाली र उच्च पहाडी भूभागमा तापक्रम बढी दिने खानाको प्रयोग गर्नुपर्छ । हिमाली भेगमा चियामा घिउ हालेर खाने चलन छ । घिउलगायत चिल्लो पदार्थले तापक्रम बढाउन मद्दत गर्ने चिकित्सक बताउँछन् । रासस