आज हल्का वर्षा र हिमपात हुने
काठमाडौँ । आज प्रदेश १, गण्डकी र बाग्मती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १ र बाग्मती प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
तराईका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने र चिसो बढ्ने महाशाखाले जनाएको छ । साथै देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएपनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो प्रदेश १ बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती प्रदेश १ र बाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।