कोल्डड्रिङ्स दाँत र हड्डीको जघन्य शत्रु
काठमाडौँ । केही वैज्ञानिक यस्तो भविष्यवाणी गर्दैछन् कि कोल्डड्रिङ्स पिउने होड यसरी नै चलिरह्यो भने आगामी पचास वर्षपछि दाँतको स्थिति अत्यन्त भयावह हुनेछ । ती वैज्ञानिकको अनुमान अनुसार बिस वर्ष उमेर पुग्नुअगावै व्यक्तिको मुख दाँतरहित हुनेछ । त्यस बखत यस्तो स्थिति बन्ने छ कि बुढेसकालसम्म दाँत नझर्ने व्यक्ति साक्षात् भगवान्तुल्य हुनेछ ।
प्रत्येक व्यक्तिले हृदयङ्गम गर्नुपर्ने तितो सत्य के हो भने कोल्डड्रिङ्स हाम्रो दाँत र हड्डीको जघन्य शत्रु हो । शत्रु शब्द प्रयोग गर्दै यसरी किन कठोरतापूर्वक भनिँदै छ भने कार्बाेनेटेड प्रविधिद्वारा निर्मित कोल्डड्रिङ्स पचाउन शरीरले हड्डी र दाँतहरुबाट अत्यावश्यक तत्वहरु सापटी लिनुपर्दछ । सापटीमा दिइने त्यस्ता तत्व हुन्, क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, फलाम, पोटासियम ।
इओनिया विश्वविद्यालय ग्रिसका वैज्ञानिकहरुले यस विषयमा उदेकलाग्दो तथ्य सार्वजनिक गरेका छन् । ती वैज्ञानिकका अनुसार कोल्डड्रिङ्स पेटमा पुगेपछि, त्यसले खतरनाक प्रतिक्रिया (बायोकेमिकल फिजियोलोजिकल रिएक्सन) को लहर उत्पन्न गर्दछ । सो प्रतिक्रियामा शरीरभित्र अवस्थित पोटासियमको ठूलो क्षति हुन्छ । त्यसले दाँत र हड्डीलाई त कमजोर बनाउँछ नै साथै हाइपोकेलिमिया नामक रोगको खतरासमेत उत्पन्न गराउँछ ।
साभार ः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट