सत्तामा जाने विषय एमालेको प्राथमिकतामा छैन : सचिव बिष्ट
काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले आफ्नो पार्टीका लागि अहिले सत्ता पहिलो प्राथमिकता नभएको बताएका छन् । जनताले दोस्रो पार्टी बनाएकोले आफ्नो पार्टी प्रतिपक्षमा नै बसेर जनजीविकाको विषयमा बढी केन्द्रीत हुनुपर्ने उनको आशय छ ।
आइतबार बुटवलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सचिव विष्टले सबैभन्दा ठूलो दल बनेको कांग्रेसले सरकार गठन गर्नु राम्रो हुने र कांग्रेसले नसकेको अवस्थामा मात्रै एमालेले पहल गर्नुपर्ने धारणा राखे । एमालेका निम्ति तत्कालका लागि सरकार प्राथमिकताको विषय नभएको उनको भनाई छ ।
गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट प्रत्यक्षतर्फ नेपाली कांग्रेस र समानुपातिकतर्फ एमाले पहिलो दल बनेका छन् । समग्र परिणाममा पनि नेपाली काँग्रेस नै पहिलो द लबनेको छ। समानुपातिक मतपरिणाममा एमाले पहिलो दल बने पनि प्रत्यक्षको परिणामका आधारमा दोस्रो दल बनेकोले आगामी पाँच वर्ष प्रतिपक्षमै रहेर लोकतन्त्र, सामाजिक रुपान्तरण र विकासका मुद्दालाई अगाडि बढाउनुपर्ने सचिव विष्टको भनाई छ।
उनले सत्तामा जानको लागि एमालेले अवाञ्छित गतिविधि पनि नगर्ने बताए। यो निर्वाचनले वाम आन्दोलन, राष्ट्र र जनताको हितको लागि महत्वपूर्ण सन्देश दिएको उनले बताए। एमालेलाई कमजोर बनाउन चौतर्फि घेराबन्दी भए पनि जनताले एमालेलाई समानुपातिकमा सबैभन्दा ठूलो दलको रुपमा अनुमोदन गरको उनको दाबी छ।