माधव नेपाललाई प्रधानमन्त्री बनाउन चिनियाँ लबिङ !
काठमाडौँ– पछिल्लो समय राजनीतिक दलहरू सरकार बनाउन लागेका छन् । राजनीतिक दल मात्र होइन, नेपालको राजनीतिमा चासो राख्दै आएका छिमेकी देश र अन्य मित्र राष्ट्रहरूको समेत निर्वाचनपछि नेपालमा बन्ने नयाँ सरकारको विषयमा चासो बढेको देखिन्छ ।
२०७४ सालको निर्वाचनपछि नेपालमा कम्युनिष्टहरू एकीकरण हुनुपर्ने पक्षमा रहेको चीनसमेत नेपाली राजनीतिकमा केही वर्षयता चासो राख्दै आएको छ । भारतले गरेको अघोषित नाकाबन्दीपछि नेपालको आन्तरिक मामिलामा चीनको सक्रियता तुलनात्मक रूपमा बढ्दै गएको छ ।
चीन नेपालमा कम्युनिष्टहरूलाई एकीकरण गर्न २०७४ सालदेखि लागिपरेको छ । एमाले र माओवादी एकीकरण भएर बनेको नेकपा विभाजन २०७७ सालमा वाम सरकार सत्ताबाट बाहिरिएपछि चीनले कम्युनिष्टहरूलाई फेरि एक ठाँउमा उभ्याउन प्रयास गदै आएको छ ।
२०७४ सालयता चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका दुई जना नेताले नेपाल भ्रमण समेत गरिसकेका छन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष नेपाललाई निर्वाचनअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटेकी थिइन् ।
मंसिर ४ को निर्वाचनपछि कम्युनिष्टहरू एकीकरण गर्न चीनले अहिले एसका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाउन पहल गरिरहेको पाइएको छ । चीनका केही नेताहरूले एमाले, माओवादी र अन्य साना कम्युनिष्ट पार्टीहरूलाई एक ठाँउमा उभिन आग्रह गदै नेकपा एसका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाउन पहल गरिरहेको एसका एक केन्द्रीय नेताले जानकारी दिए ।
ती नेताका अनुसार चिनियाँ प्रतिनिधिहरूले एमाले र माओवादीका केही शीर्ष नेताहरूसँग भेटेर पनि यो प्रस्ताव गरेका छन् । अहिलेसम्म एमाले र माओवादीका शीर्ष नेताले यो विषयमा केही प्रतिक्रिया दिन र सुन्न नचाहेको उनले बताए ।
‘अहिले एसका अध्यक्षलाई प्रधानमन्त्री बनाउन चर्चा बाहिर ल्यायो भने दुवै पार्टीमाथि प्रश्न उठ्ने भएका कारण एमाले र माओवादी मौन बसेका छन् । तर, चीनले एसका अध्यक्षको नेतृत्वमा कम्युनिष्ट सरकार बनाउन खोजेको छ,’ उनले भने ।
सरकार बनाउने विषयमा गठबन्धनभित्र छलफल भइरहेको कारण अन्य विषयमा जानकारी नभएको नेकपा एकीकृत समाजवादी (एस) का महासचिव बेदुराम भुसाल बताउँछन् ।
आफ्नो पार्टीपनि गठबन्धनबाट सरकार बनाउने पक्षमा रहेको र चीनले एसका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने भन्ने विषय हल्ला मात्र भएको उनले क्यानडा नेपालसँग बताए ।
अहिलेका राजनीतिक दल कसैले पनि एकल बहुमत ल्याएर सरकार बनाउने स्थिति छैन । एकल बहुमतको सरकार बनाउन १३८ जना सांसद चाहिन्छ । अहिले बामपन्थी पार्टीहरुसँग १२१ सांसद मात्र छन् । ७८ सांसद एमालेमा छन् । माओवादीका ३२ सांसद छन् । समावादीका १०, राष्ट्रिय जनमोर्चाको १ सांसद छन् । जसका कारण बाम सरकार बनाउन १७ सिट पुग्दैन ।
बाम सरकार बनाउन समेत माओवादी, एमाले र एसले सरकार बनाउन राप्रपा र जसपासँग गठबन्धन गर्नुपर्ने स्थीति छ । राप्रपासँग १४ र जसपासँग १२ सांसद छन् । बाम सरकारका लागि यी दुई पार्टीले सहयोग गर्नुपर्छ ।
चीनमा एउटा मात्र पार्टी भएको र त्यही पार्टीले सरकारसँगै सासन र सेना चलाउने भएकाले कूटनीतिक तहमा छिमेकी राष्ट्रहरुमा कम्युनिस्ट सरकारमा भएका देशसँग काम गर्न सहज हुने चिनियाँ बुझाइ छ । त्यही भएर चीनले नेपालमा कम्युनिष्ट पार्टीहरूलाई एकीकरण गरेर सरकारको नेतृत्वमा ल्याएर सजिलोसँग सम्बन्ध विस्तार गर्न खोजीरहेको छ ।
नेकपाभित्रको विवाद चर्किएका बेला चिनियाँ राजदूतले देखाएको सक्रियताले नेपाली राजनीतिक वृत्तमा निकै चर्चा पाएको थियो । त्यस बेला राजदूत यान्छीले नेकपाका शीर्षस्थ नेताहरूका साथै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गदै कम्युनिष्टहरूलाई मिलाउन निकै प्रयास गरेकी थिइन् ।