नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि
काठमाडौँ । सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १०औँ संस्करण आजदेखि सुरू हुँदैछ। मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा हुन लागेको उक्त महोत्सव यही पुस ६ गतेसम्म चल्ने छ।
‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ नारासहित आयोजना हुने सो महोत्सवको उद्घाटनका अवसरमा शान्ता नेपालीद्वारा निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्प्रेचर्स, टप अफ द वल्र्ड’ र समापन समारोहमा दीपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ देखाइनेछ।
विश्वभरीबाट खुल्ला आवेदनमार्फत सङ्कलन गरिएका नेपालसहित २५ देशका ६४ चलचित्र, वृत्तचित्रलगायत महोत्सवमा देखाइने छन् । नेपालबाट निर्देशक अभिनाश विक्रम शाह, भातरबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टाचार्य, कोरियाबाट मानव अधिकार अभियन्ता तथा महोत्सव निर्देशक सु-ली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा छन् ।
महोत्सवमा प्रदर्शन गरिने उत्कृष्ट चलचित्रलाई नगदसहित अवार्ड प्रदान गरिने छ । उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवका निर्देशक पाण्डव खत्रीका अनुसार विदेशी चलचित्र कसरी निर्माण भइरहेका छन्, कथा कसरी छनोट गरिएको छ, कथा वाचन गर्ने शैली, पात्र चयन, पात्रको अभिनयलगायत कुरा सिक्न पाइने छ ।
“महोत्सवबाट नेपाली कला, संस्कृतिका साथै नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा समेत सहयोग पुग्ने छ”, उनले भने।