Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकपः फ्रान्स इतिहास बनाउने रणनीतिमा, अर्जेन्टिना जित्ने दाउमा

आइतबार, पुस ३, २०७९

काठमाडौँ– कतारमा जारी २२ औं विश्वकप फुटबलको फाइनल आइतबार (आज) राति हुँदैछ । तेस्रोपल्ट विश्वकप फुटबलको उपाधि जित्ने लक्ष्य साथ दुवै देशमा मैदानमा उत्रिदै छन् । अर्जेन्टिना र फ्रान्सको टिम आमनेसामने भएर हुने खेललाई आमदर्शकका लागि पनि चासो र कसले जित्ला भन्ने विषय बनेको छ । 


अर्जेन्टिनाले पहिलोपटक सन् १९७८ मा विश्वकप आयोजना गर्ने अवसर पाएको थियो । यही विश्वकपको उपाधि अर्जेन्टिनाले जित्दै आफ्नो इतिहास बनाएको थियो । सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा जर्मनीलाई पराजित गर्दै अर्जेन्टिनाले दोस्रोपटक उपाधि जितेको थियो । 


३६ वर्षपछि लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना तेस्रोपटक उपाधि जित्ने दाउमा छ । सन् २०१४ मा विश्वकपको फाइनलमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो । अर्जेन्टिना विश्वकपमा दुईपटक विश्वकप जित्दा तीनपटक उपविजेता बनेको छ । तीनपटक उपविजेता हुँदा दुईपटक फाइनलमा अर्जेन्टिना जर्मनीसँग सन् १९९० र २०१४ मा पराजित भएको छ । त्यस्तै, एकपटक भने सन् १९३० मा भएको विश्वकपमा उरुग्वेसँग पराजित हुँदै अर्जेन्टिना उपविजेता बनेको थियो ।


पाँचपटक विश्वकप खेल्दासमेत मेसीले ट्रफी उचाल्न पाएका छैन । आजको खेलमा उनले यो मौका गुमाउन नचाहने गरी मैदानमा उत्रिदैछन् । उता, फ्रान्सका युवा स्टार खेलाडी केलियन एम्बाप्पे भर्खर २३ वर्ष लागेका छन् । पहिलोपटक सन् २०१८ को विश्वकप खेलेका एम्बाप्पेले ट्रफी चुमिसकेका छन् । कतारमा जारी विश्वकपमा उनी पनि दोस्रो पटक विश्वकपको ट्रफी उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिदैछन् । 


घरेलु मैदानमा विश्वकपको उपाधि जितेको फ्रान्सले त्यसपछि दोस्रोपटक विश्वकप जित्न २० वर्ष लाग्यो । २०१८ मा विश्वकप फुटबलको उपाधि जितेको फ्रान्स पनि लगातार दुईपटक विश्वकपको उपाधि जित्दै इतिहास रच्ने लक्ष्यमा छ । सन् १९५८ र १९६२ मा ब्राजिलले लगातार दुईपटक विश्वकपको उपाधि जित्दै इतिहास बनाएको थियो । फ्रान्स सन् १९५८ र १९८६ मा दुईपटक विश्वकपमा तेस्रो भएको छ । त्यस्तै, सन् १९८२ को विश्वकपमा पनि फ्रान्स सेमिफाइनल पुग्दै चौथो भएको थियो ।


सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाइनलमा फ्रान्स पुगेको थियो तर विश्वकपको उपाधि दोस्रोपटक उचाल्ने फ्रान्सको सपना इटालीले ब्रेक लाग्यो । 


१३ औ पटक भिड्दै

फुटबल खेलमा अर्जेन्टिना र फ्रान्सबीच १२ पटक प्रतिस्पर्धा भइसकेको छ । ती खेलमध्ये अर्जेन्टिना सर्वाधिक ६ पटक विजयी हुँदा फ्रान्सले तीनपटक मात्र जितेको छ ।  यी देशबीच तीन खेल बराबरीमा भएका छन् भने, सन् २०१८ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराएको थियो । विश्वकपमा भएको तीनमध्ये दुई खेल अर्जेन्टिनाले जितेको थियो ।  विश्वकपको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको फ्रान्सका लागि अविस्मरणीय र ऐतिहासिक विश्वकप भने सन् १९९८ मा भएको थियो । 

 

 

 

 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्