देउवालाई प्रधानमन्त्रीको ढोका खोलिदिने जिम्मा आङ्देम्बेलाई
काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय समिति बनाएको छ । नयाँ निर्वाचनपछि संसदीय दलको नेता निर्वाचित गर्नुपर्ने भएकोले काँग्रेसले समिति बनाएको हो ।
नेपाली काँग्रेसको संसदीय दलको विधानमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ । सो व्यवस्था अनुसार संसदीय दलको नेता बनाएर देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने जिम्मेवारी काँग्रेस सहमहामन्त्री भिष्मराज आङ्दम्बेलाई दिइएको छ । आङ्दम्बे देउवा निकट नेता हुन् ।
आङ्देम्बे संयोजक रहेको समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही रसाइली सदस्य रहेको प्रार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
‘सकेसम्म सर्वसम्मत हुन्छ नभए निर्वाचन प्रक्रियामा जाने हो, संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय समिति बनाइएको छ,’ प्रवक्ता डा. महतलले भने ।
काँग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाका साथै महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धाको तयारीमा छन् । यस्तै, काँग्रेस नेता डा. शेखर कोइरालाले पनि काँग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने इच्छा देखाएका छन् । कांग्रेसले संसदीय दलको बैठक पुस ६ गते बोलाएको छ ।