सबै दलले संसदीय दलको नेता छानेपछि पावर सेयरिङको कुरा हुन्छ : माओवादी
काठमाडौँ – नेकपा माओवादी केन्द्रले सबै राजनीतिक दलहरुले संसदीय दलको नेता छानेपछिमात्र पावर सेयरिङका विषयमा छलफल हुनु पर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको आजको बैठकले पावर शेयरिङका विषयमा सबै दलहरुले नेता छानेपछि मात्र कुरा गर्नु पर्ने निर्णय गरेको हो ।
'अहिले गठबन्धन दलबीचमा भएको छलफलको प्रक्रिया भर्खर प्रारम्भ भएको हुँदा आआफ्नो दलका नेताहरु चयन भइसकेपछि गठबन्धन दलको बैठक बसेर कसरी सरकारमा सहभागिता हुने, संसदको नेतृत्व कसरी चयन गर्ने र समग्र देशको नेतृत्व कसरी तय गर्ने भन्ने विषयमा गठबन्धन दलमा छलफल हुन्छ,’ बैठकपछि सञ्चारकर्मीलाई कुरा गर्दै उपमहासचिव जनार्दन शर्माले भने ।
सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरिसकेकी छन् । दलहरुलाई संविधानको धारा ७६ को (२) अनुसार सरकार गठनका लागि आग्रह गरे पनि दलहरुले भने अहिलेसम्म संसदीय दलको नेतासमेत छानेका छैनन् ।