Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्यानिटरी प्याडः कर ९० प्रतिशत घट्यो, मूल्य घटेन, बरु बढ्यो

सोमबार, पुस ४, २०७९

काठमाडौँ । सरकारले गत जेठमा चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै स्यानिटरी प्याडको आयातमा लाग्दै आएको भन्सार महशुलमा ९० प्रतिशत छुट दिने निर्णय ग¥यो । महिलालाई महिनावारीको समयमा अत्यावश्यक वस्तुको रुपमा रहेको स्यानिटरी प्याडमा कर कम गर्नुपर्ने दबाबका बीच सरकारले यस्तो निर्णय गरेको थियो ।

 

स्वास्थ्यसँग जोडिएको अत्यावश्यक सामग्री भएकाले विलासिताका सामग्री मानेर लगाइएको कर खारेज गर्न माग गर्दै अभियानकर्मीहरुले ‘रातो कर माफ गर’ जस्ता नारासहित आन्दोलन गरेका थिए । सोही माग सम्बोधन गर्दै सरकारले भन्सार महसुलको ९० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो ।

 

सरकारले कर घटाएपछि यसको मूल्य घट्ने अपेक्षा धेरैको थियो । किनभने नेपालमा प्रयोग हुनेमध्ये बढी हिस्सा आयातित प्याडको नै हुने गरेको छ । तर, कर घटेपनि स्यानिटरी प्याडको मूल्य भने घटेको छैन ।

 

सरकारले आयातमा ९० प्रतिशत कर छुट दिने निर्णय गरे पनि हाल बजारमा सेनिटरी प्याडहरुको मुल्यमा नघटेको प्रिती कस्मेटीक तथा होलसेल सेनेटरी प्याड व्यापारी भगिरथ शर्मा बताउछन् । मुल्य नघटेपछि आफूहरुले पनि थोरै नाफा खाएर बेच्ने गरेको उनले बताए । 

 

सरकारले कर कम गरेपछि मूल्य घट्नको साटो उल्टै मूल्य बढेको व्यापारीहरु बताउँछन् । कल्याणकारी मेडिकलका सञ्चालक दिनेश राईका अनुसार अहिले स्यानिटरी प्याडको एमआरपी (अधिकतम खुद्रा मुल्य) बढेर आएको छ ।

 

व्यापारीहरुका अनुसार पहिला ७० रुपैयाँमा पाइने ह्वीस्पर ब्राण्डको स्यानिटरी प्याडको उपभोक्ता मूल्य अहिले ७८ रुपैयाँ पुगेको छ । तर, बढेको मूल्य अनुसार उपभोक्तासँग एकैपटक बढी रकम लिन अप्ठेरो पर्ने भएपछि ७५ रुपैयाँमा विक्री गरिरहेको व्यापारी बताउँछन् । एकैपटक १० रुपैयाँ मूल्य बढाउन बढाउन गाह्रो हुने र ७८ मा बेच्न रकम साट्ने झन्झट हुने भएकोले प्रतिप्याड ७५ रुपैयाँमा विक्री गरिएको हो । त्यस्तै, प्रतिप्याकेट १४० रुपैयाँ पर्ने स्टेफ्रीको मूल्य बढेर अहिले १५२ रुपैयाँ पुगेको छ ।

 

स्यानेटरी प्याडको कच्चा पदार्थ आयातमा ८.५ प्रतिशत कर पर्छ भने तयारी वस्तु आयतमा १.५ प्रतिशत कर पर्दछ । 

 

नेपाल स्यानेटरी प्याड एण्ड डाइपर म्यानुफ्यनक्चर एसोसिएसनका अध्यक्ष डोलबहादुर अधिकारीका अनुसार कतिपय आयातित सेनेटरी प्याडमा एमआरपी र आयातकर्ताको नाम समेत उल्लेख नहुँदा उपभोक्ता ठगिने क्रम बढेको छ ।

 

सेनिटरी प्याडको भन्सारमा छुट दिएपनि बजारमा भइरहेको मुल्य वृद्धिबारे भने सम्बन्धित निकाय बेखबर छ । यस विषयमा विभागमा गुनासो नआएकाले आफूहरूलाई थाहा नभएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले बताए । उनले हालसम्म विभागमा यस विषयमा कुनै गुनासो नआएपनि प्याडको मुल्यबारे थप बुझ्ने बताए । 

 

कति हुन्छ आयात ?

 

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक बर्षमा ३ करोड ३१ लाख १९ हजार १ सय ४० पिस प्याड आयात भएको छ । विभागको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षको चार महिनामा प्याड आयात बढेको देखाउछ । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चार महिनामा मात्रै नेपालमा ४ करोड ३५ लाख ८७ हजार ४ सय ७८ पिस प्याड आयात भएको छ । 

 

नेपालमा सबैभन्दा बढी भारतबाट सेनिटरी प्याड आयात हुने विभागका सुचना अधिकारी पुण्यविक्रम खड्काले बताए । भारत बाहेक डेनमार्क, हङकङ, फिलिपिन्स, बेलायत, अमेरिकी लगायत मुलुकबाट पनि नेपालमा सेनिटरी प्याड आयात हुन्छ । नेपालमा ह्वीस्पर, स्टेफ्री र सोफी ब्राण्डका धेरै बिक्री हुने सेनिटरी प्याड हुन् । नाइन, कम्फी, केयरफ्री लगायत ब्रान्डका सेनिटरी प्याड पनि नेपालमा पाइन्छन् ।

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्