विदेशमा रहेका नेपालीले नेपालमा आईपीओ भर्न डिम्याट खाता कसरी खोल्ने ?
काठमाडौं । धितोपत्र बोर्डले विदेशमा रहेका नेपालीले नेपालका कम्पनीहरुले जारी गर्ने साधारण सेयर (आईपीओ) भर्न पाउने नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याइसकेको छ । कम्पनीहरुले जारी गर्ने कुल आईपीओको १० प्रतिशत सेयर विदेशमा रहेका नेपालीलाई छुट्टयाउनु पर्ने नीतिगत व्यवस्था छ ।
सरकारले विदेशमा बस्ने नेपालीलाई आईपीओमा आरक्षण दिएपनि त्यसको कार्यान्वयनको लागि भने विभिन्न प्रक्रिया पुरा गर्नुपर्छ । यस्तै प्रक्रियामध्येको एक प्रमुख कार्य हो नेपालमा रहेका कम्पनीमा डिम्याट खाता खोल्ने ।
नेपालमा रहेका कम्पनीमा डिम्याट खाता खोल्न के कस्तो प्रक्रिया पूरा गर्नुपर्छ वा कस्ता प्रकारका कागजात चाहिन्छ भनेर हामीले एनआईविएलएस क्यापिटलसँग सोधेका थियौं । सो क्यापिटलले निम्म बमोजिमको प्रक्रिया पुरा गरेर डिम्याट खाता खोल्न सकिने जानकारी दिएको छ ।
कम्पनीले दिएको जानकारी अनुसार सबैभन्दा पहिला सम्बन्धित कम्पनी (उदाहरणको लागि एनआईबीएलएस क्यापिटल) को वेबसाइटमा जानुपर्छ ।
त्यसपछि वेबसाइटमा रहेको अनलाइन सर्भिस ट्यावमा क्लिक गर्नुपर्छ । त्यसपछि अनलाइन अकाउन्ट ओपनिङ ट्यावमा क्लिक गर्नुपर्छ । नयाँ प्रयोगकर्ताले भने साइनअप बटनमा क्लिक गर्नुपर्छ । त्यसपछि अनलाइन मार्फत माग गरे बमोजिमका सवै विवरणहरु पेश गर्नुपर्छ ।
यसरी विवरणहरु पेश गर्दा सम्पुर्ण विवरणहरु स्पष्ट बुझिने गरि अपलोड गर्नुपर्छ भने पासपोर्ट साइजको फोटो अपलोड गर्दा हालसालै खिचिएको स्पष्ट अनुहार देखिने हुनुपर्ने छ । औंठाछापको प्रयोग गर्दा सादा पेपर र कालो मसीको प्रयोग गरिएको हुनुपर्दछ ।
डिम्याट खाता खोल्नका लागि सावालकको हकमा नागरिकता प्रमाणपत्र तथा नावालकको हकमा जन्मदर्ता प्रमाणपत्रको साथै संंरक्षकको नागरिकता प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने हुन्छ । त्यसपछि मेरो सेयर अनलाइनका लागि डिजिटल वालेट मार्फत ५० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । पेश गरिएका विवरणहरु रुजु गरी सबमिट बटनमा क्लिक गरेपछि तपाईको काम सकिनेछ ।
प्राप्त विवरणहरु ठिक भए नभएको चेकजाँच गरी सम्बन्धित कम्पनीले डिम्याट खाता नम्बर प्रदान गर्नेछ । उक्त डिम्याट खाता नम्बरको जानकारी विवरण पेश गर्न प्रयोग गरिएको प्रोफाइल मार्फत प्राप्त गर्न सकिने छ ।