गोली हानेर घाइते भएका सुन व्यापारीबाट ३५ तोला सुन र २ लाख नगद लुटपाट
काठमाडौँ– कैलालीको अत्तरियामा आइतबार साँझ सुनचाँदी व्यवसायी विकास गौतम (सुनार) माथि गोली प्रहार गर्ने समूहले ३५ तोला सुन र २ लाख रुपैयाँ लुटपाट गरेको छ । अत्तरिया बजारबाट पसल बन्द गरेर गोदावरी नगरपालिका–१ वनखेत घरतर्फ मोटरसाइकलमा फर्किरहेका बेला गौतममाथि मोटरसाइकलमा आएका दुई जना बन्दुकधारीले गौतममाथि गोली प्रहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घाइतेको भनाइ अनुसार उक्त परिणामको सुनका गरगहना र नगदसहितको झोला लुटपाट भएको हो ।
गोदावरी नगरपालिका–१ को वनखेतमा बस्दै आएका विकासले घरमा पनि सुनचाँदीको काम गर्ने गरेका कारण पसलबाट सुनका गरगहना घरतर्फ लगिरहेको लालबहादुर बताउँछन् । व्यक्तिगत कारण वा लेनदेनको विषयमा कुनै व्यक्तिसँग पनि पूर्व रिसइबी वा वादविवाद नरहेको बताउने गौतम दोषीको पहिचान गरेर शीघ्र कारवाहीको दायरामा ल्याउनुपर्ने बताउँछन् ।
घटनाको विरोधमा सुनचाँदी व्यवसायी
गौतममाथि गोली प्रहार गरेर लुटपाट गरिएपछि सुनचाँदी व्यवसायीहरु सुरक्षाको माग गर्दै विरोधमा उत्रिएका छन् । अत्तरिया सुनचाँदी व्यवसायी संघको आह्वानमा त्यस क्षेत्रका व्यवसायीहरुले सोमबार पसल बन्द गरेर विरोध जनाएका छन् ।
अत्तरिया सुनचाँदी व्यवसायी संघका सदस्य समीर सिजापतीले दोषीलाई कारवाहीको दायरामा ल्याएर सुनचाँदी व्यवसायीको सुरक्षाको माग गर्दै सोमबार व्यापार व्यवसाय बन्द गरिएको बताए । उनले आगामी दबावमूलक कार्यक्रमका विषयमा समेत छलफल भइरहेको बताउदै लुटपाटमा संलग्नलाई कारवाहीको दायरामा नल्याए कडा आन्दोलनको चेतावनी दिए ।