सन्त कबीरका केही अमर वाणीहरू
१) बलेको दियोको सौन्दर्यमा लट्ठिएर पुतलीहरू डढेर मर्दछन् । त्यसरी नै विषय वासनाको प्रबल प्रवाह बढ्नाले कामुक व्यक्ति दुःख कष्ट भोग्नु परे पनि त्यस विषयलाई त्याग्न सक्दैनन् । आफ्नो जन्म–मृत्युको अलिकति पनि हेक्का राख्दैनन् ।
२) अबुझले मेरो कुरा पत्याउन्नन् । चाहे कुनै मानिस साधु वैरागीको भेषमा होस् वा गृहस्थमा – कुनै पनि रूपमा कामी मनुष्यको कुनै ठेगाना छैन, अर्थात् त्यसको उद्धार हुन सक्दैन ।
३) इन्द्रियजन्य विषय भोगको स्वादमा परेर मूर्ख, कामी मनुष्यले त कल्याणमयी भक्तिलाई नै बिगारिदियो । ज्ञान रुपी अनमोल हीरा गुमाए पूरा मनुष्य जीवन व्यर्थमा गुमायो । जुन समय पवित्र सद् ज्ञान प्राप्त गर्ने उचित अवसर थियो त्यसलाई विषय भोगमै लगाइदियो ।
४) काम शब्दको उच्चारण सरल छ, त्यसैले सबैले भनिरहन्छन् तर कामको वास्तविक रूपलाई चिन्दैनन्, त्यसको गम्भीर अर्थ भेद बुझ्दैनन् । मनका जति पनि विषयसम्बन्धी कल्पना छन् ती सबैको संयुक्त रूप काम हो ।
५) काम, क्रोध, लोभ, मोह, मद आदि दुर्गुणले जबसम्म हृदय भरिएको हुन्छ, तबसम्म मूर्ख र पण्डित दुवै एक समान हुन् । अर्थात् जसले भक्ति ज्ञानद्वारा यी दुर्गुणलाई हृदयबाट निकालेको छ उही पण्डित हो र जसले यिनलाई छोडेन ऊ मूर्ख हो ।
६) यस संसारका मानिसको माया–मोह झुटो हो । मुख वैभव रुपी माया जुन घरमा जति धेरै छ तथा त्यस जन्य प्रसन्नता जति बढी छ, त्यहाँ त्यति नै बढी विपत्ति छ । त्यस घरमा वैरभाव र पीडा छ ।
७) विषय वासनाको कुसङ्गत गर्ने कामी मनुष्यको दशा बलेको दियो जस्तै हो जो आफ्नो आधार तेललाई पनि चुस्दछ, जसबाट ऊ बल्न सकेको हुन्छ । ती मानिस हीरा जस्तै हुन् जसको सदा काल आफ्नै स्वाभाविक प्रकाश हुन्छ । तिनले आफ्नो ज्ञान–प्रकाशद्वारा जिज्ञासु हृदयलाई प्रकाशित गर्दछन् ।
साभार : ‘महापुरुषहरूका अमर वाणी’ पुस्तकबाट