Nic Ad Nic Ad
Nic Ad Nic Ad

टिप्पणीः टीम गगनले दिएको दुई फरक सन्देश

राम्रो संकेत के हो भने नेपाली काँग्रेस युवालाई नेतृत्व दिने सवालमा उदार रुपमा आएको छ
मंगलबार, पुस ५, २०७९

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस संसदीय दलमा उम्मेदवारी दिदाँ देखिएको परिदृश्य ऐतिहासिक रह्यो । काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार भएका चारै जना नेता गगनसँगै रहे ।

 

अहिले युवाले राजनीतिक नेतृत्व गर्नुपर्छ भन्ने जनमत व्यापक छ । यही जनमतको कारण नै भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी जवरजस्त पार्टीको रुपमा जन अनुमोदित भयो । तराई मधेशमा सिके राउतको पार्टीको राम्रो उपस्थिति देखियो भने पुरातनबादी पार्टी राप्रपाले पनि राजेन्द्र लिंदेनलाई अध्यक्ष बनाएपछि राम्रै मत पायो ।

 

गगन थापालाई काँग्रेस संसदीय दलको नेता बनाउनको लागि विगतमा एकअर्काका प्रतिस्पर्धी भएका महामन्त्रीका चारै जना उम्मेदवार एकै ठाउँमा उभिए । काँग्रेसको १४औं महाधिवेशनमा गगन थापा, विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल र प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार बनेका थिए । यसमध्ये गगन र विश्वप्रकाशले चुनाव जिेत । र, गगनलाई अब काँग्रेसको संसदीय दलको नेता बनाउन यी चार जना नै गगनसँग छन् । भलै, डा. रिजालले यसपालि सांसदको टिकट नै पाएनन् ।

 

अब गगनसहित विश्व, मिनेन्द्र र प्रदीप काँग्रेस संसदीय दलको नेताको लागि टीम गगन बनेका छन् । यो टीमलाई डा. शेखर कोइरालाले अभिभावकीय नेतृत्व गरेका छन् । टीम गगनले चुनाव जितेमा यो टीम काँग्रेसमा धेरै नै शक्तिशाली हुनेछ भने जितेन भने पनि आगामी दिनको लागि काँग्रेसको नेतृत्व कस्तो हुनेछ भन्ने आँकलन गर्न सकिने अवस्था बनेको छ । 

 

टीम गगनले एउटा राम्रो र एउटा नराम्रो संकेत दिएको छ । राम्रो संकेत के हो भने नेपाली काँग्रेस युवालाई नेतृत्व दिने सवालमा उदार रुपमा आएको छ भन्ने हो । गगन थापाहरु अब पार्टी सभापति शेरबहादुर देउवालाई चुनौति दिएर संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न सक्ने सहज लोकतान्त्रिक प्रतिस्पर्धााम छन् भन्ने हो । नेपाली काँग्रेसभित्र नेतृत्व क्षमता र योग्यताको आधारमा पार्टीमा उचित स्थान पाइने अवस्था छ भन्ने सन्देश प्रवाह हो ।

 

टीम गगनले अर्काे नराम्रो संकेत पनि प्रवाह गरेको छ । त्यो के हो भने अबका दिनमा काँग्रेसको नेतृत्व फेरि तीन जनाको सल्लाह अनुसार तय हुन्छ भन्ने हो । काँग्रेस संस्थापक वीपी कोइरालाले आफूपछि काँग्रेसको नेतृत्व गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले मिलेर गर्नु भन्ने निर्देशन दिएका थिए । वीपीको अवसानपछि काँग्रेस यी तिनै जना नेताको वरिपरी र कतिपय अवस्थामा यी तीन जना नेताको व्यक्तित्व टकरावमा रुमल्लियो ।

 

त्यही बीचमा गिरिजाप्रसाद कोइरालाले सिंह र भट्टराईलाई पाखा लगाएर काँग्रेसमा एकलौटी गरेपनि सिंह समुह र भट्टराई समुह भन्ने मान्यता कहिल्यै हटेन । गिरिजाबाबुपछिका नेताहरु पनि तीन जना नै भनेर स्थापित भए । शेरबहादुर देउवा, सुशील कोइराला र रामचन्द्र पौडेल गिरिजाप्रसाद कोइरालापछिका तीन नेता थिए ।

 

अहिले पनि टीम गगनमा तीन नेताको उदय भएको छ । गगन, विश्व र प्रदीप काँग्रेसको अबका तीन नेता हुन् । यी तीन नेताले पनि आपसमा भागबण्डा खोज्ने र यो र त्यो समुह भनेर बखेडा झिक्ने अवस्था आयो भने काँग्रेसका लागि भोलिका दिन त्यति सुखद नहुन सक्छन् । तर, तत्कालको लागि भने युवा नेता टीम गगनतिर र पाका नेताहरु टीम देउवातिर लागेका छन् । अबका दिनमा काँग्रेस युवाको जोस र अनुभवीको होसको व्यवस्थापन कसरी गर्दै अघि बढ्छ, त्यो भने प्रतिक्षाकै विषय भएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १९:४४
प्रतिक्रिया दिनुहोस्