Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज ज्येष्ठ सदस्यले शपथ ग्रहण गर्ने, भोलि अरूलाई गराउने

बुधबार, पुस ६, २०७९

काठमाडौँ – प्रतिनिधिसभाका निर्वाचित जेष्ठ सदस्य पशुपति शमशेर जबराले आज शपथ ग्रहण गर्ने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई पद तथा गोपनीयतको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । 

 

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्नु पर्ने हुन्छ ।

 

संसद सचिवालयका अनुसार  नागरिकताको प्रमाणपत्र अनुसार १९९८ मङ्सिर २४ गते जन्मिएका राणा नै प्रतिनिधिसभाका निर्वाचित ज्येष्ठ सदस्य हुन् ।  राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ खाने भएका हुन्।

 

सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई  शपथ खुवाउनुपर्छ। सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नव निर्वाचित अन्य सदस्यलाई यही पुस ७ गते दिनको १ बजे शपथ गराउने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

 

नेपालको संविधानअनुसार सङ्घीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहि पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ खानुपर्छ। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा एक सय १० गरी दुई सय ७५ जना प्रतिनिधिसभा सदस्य चुनिएका छन्। 

 

प्रनिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ। प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको  मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  ०६:५१
प्रतिक्रिया दिनुहोस्