कृषि मन्त्री नहुँदा कृषक समस्यामा, अझै तोकिएन उखुको मूल्य
काठमाडौं । सरकारले उखु क्रसिङको काम सुरु भएपनि मूल्य तोक्न सकेको छैन । उखु उत्पादन गदै आएका किसानले उत्पादित उखुको क्रसिङ गरिरहेका छन् । तर, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पुस दोस्रो सातासम्म पनि उखुको मुुल्य तोक्न नसकेको उखु उत्पादकहरुको आरोप छ ।
कृषि मन्त्रालयले उखुको मूल्य मंसिरको पहिलो सातादेखि नै तोक्ने तयारी गरेको थियो । तर, आम निर्वाचनका कारण मंसिरमा मुुल्य तोक्न नसकेको मन्त्रालयले बताउँदै आएको छ ।
सरकार र चिनी उद्योगबीच भएको छलफलमा पाँच सय ३५ रुपैयाँ तोकिएको र त्यसमा ७० रुपैयाँ अनुदानबापत गरी ६ सय पाँच रुपैयाँ तोकिने गरी दुुई महिनाअघि छलफल भएको थियो । यो छलफलको प्रस्ताव कृषि मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएपनि पास हुन बाँकी छ ।
अहिले कृषि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेका छन् । निर्वाचनका कारण प्रधानमन्त्री देउवा व्यस्त भएका कारण भेट्ने समय नमिल्दा उखुको मूल्य समयमा तोक्न मुुश्किल भएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।
यही पुुस दोस्रो सातामा नयाँ सरकार बन्ने उखुको मुुल्य तोक्न तयारी भइरहेको र निर्वाचनका कारण ढिलो भएका उनले बताए । यसपटक समयमै अनुदानबापतको रकम पठाउने तयारी भइरहेको समेत उनले जानकारी दिए ।
मन्त्रालय पनि यसपटक उखुको मूल्य तोकेर उद्योग मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाउन तयार गरेको थियो । कृषि मन्त्री नहुँदा कृषि मन्त्रालयले समयमा उखुको मुल्य तोक्न नसकेको बताउँदै आएको छ । किसानहरुले भने कृषि मन्त्रालयसँग तीन वर्षयता बढेको चिनीको मूल्यका आधारमा उखुको मूल्य तोक्नुपर्ने माग सरकारसँग गदै आएका छन् ।
किसान महासंघले यसपटक उखुको मूल्य समयमै तोक्न मन्त्रालय र उद्योगीहरू गत कात्र्तिकमैम माग गरेका थिए ।
सरकार मूल्य समयमा नतोक्दा उखु क्रसिङ सकेर हिउँदे बाली लगाउने चटारोमा रहेका किसान विनामूल्य उखु क्रसिङ गर्न बाध्य भएको सर्लाहीका उत्पादक किसानका प्रतिनिधि कृषक राकेश यादवले जानकारी दिए ।
उखु क्रसिङ सुरु भइसक्दा पनि सरकारले मुुल्य तोक्न चासो नदेखाउँदा उखु खेतमै सुुक्न थालको उनको बताए । ‘किसानले मंसिरको दोस्रो सातादेखि नै उखु क्रसिङ गर्न थालेका छन् । उखुु सुुक्न डरले कृषकले विनामूल्य किसानले चिनी मिलमा उखुु पुुराउन थालेका छन् । जसका कारण भोलि चिनी मिलले किसान ठग्न सक्छ ।’ उनले भने ।
सरकारले मूल्य नतोक्दा पुरानै मूल्यअनुसार क्रसिङ गरेर उखु बिक्री गर्नुपर्ने अवस्थामा किसान पुुगेको उनको आरोप छ ।
सरकारले गत वर्ष उखुको बिक्री मूल्य पाँच सय ९० रुपैयाँ प्रतिक्विन्टल निर्धारण गरेको थियो । यो मुुल्यमा पाँच सय २० रुपैयाँ चिनी उद्योगीबाट र ७० रुपैयाँ सरकारी अनुदान किसान पाएका थिए । गत आर्थिक वर्षमा उखु उत्पादक किसानलाई कृषि मन्त्रालयले ६ करोड रुपैयाँ अनुदान दिएको थियो ।
०७७÷७८ मा उखुको बिक्री मूल्य पाँच सय ४४ रुपैयाँ ३३ पैसा थियो । यो आर्थिक वर्षमा ३१ लाख ६० हजार मेट्रिकटन उखु उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकमा छ । नेपालमा वार्षिक ३५ लाखसम्म उखु उत्पादन हुने गरेको कृषि मन्त्रालयले जनाएको छ ।