विराटनगरका उद्योगीले घोषणा गरे आन्दोलन
काठमाडौं । विराटनगर क्षेत्रका उद्योगी व्यवसायीले आन्दोलन घोषणा गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको चर्काे व्याजदर र प्रतिकुल बैंकिङ नीति विरुद्ध व्यवसायीले बन्द हड्ताल सहितको आन्दोलन घोषणा गरेका हुन् ।
नेपाल सरकार र नेपाल राष्ट्र बैंकले आफूहरुलाई विस्थापित नै गर्ने नियतले चर्काे व्याज असुल गरकोले बन्द हड्ताल सहितको आन्दोलनको विकल्प नभएको उनीहरुको भनाई छ । व्यवसायीले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन् ।
उनीहरुका अनुसार उद्योगी व्यवसायीका २ दर्जनभन्दा बढी संघ संस्थाहरु मिलेर बिहीबारदेखि नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयमा धर्ना दिने, बिहीबार एक दिन बजार बन्द गर्ने जस्ता कार्यक्रम घोषणा गरिएको छ ।
व्यवसायीहरूले पाँच सुत्रीय माग सार्वजनिक गरेका छन् । ती मागहरुमध्ये प्रमुख मागमा चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने छ । चालु पुँजी कर्जा २५ प्रतिशत सिमामा राख्दा आफूहरु मारमा परेको उद्योगी व्यवसायीको भनाई छ ।
यस्तै, उनीहरुले एकल अंकको ब्याजदर कायम गर्नुपर्ने, स्प्रेड दर र संस्थागत ब्याजदर २–२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग पनि अघि सारेका छन् ।
नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ लगायतका दुई दर्जनभन्दा बढी संघ संस्थाले बिहीबारदेखि सडक आन्दोलन गर्ने घोषणा गरेका हुन् ।