अपराध अनुसन्धानमा केन्द्रित हुन निर्देशन
काठमाडौँ– प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अपराध अनुसन्धानमा केन्द्रित हुन प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् । भर्खंरै सरुवा भएर कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी अधिकृतलाई आज सम्बोधन गर्दै उनले तस्करी तथा सीमा अपराध नियन्त्रण, फरार अपराधी पक्राउ एवं जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहन निर्देशन दिएका हुन् ।
उनले हालै सम्पन्न आम निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने जिम्मेवारी सफलतापूर्वक पूरा गरेपश्चात् अब प्रहरीको नियमित काममा केन्द्रित रहन निर्देशन दिए। प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यक्षेत्रमा कति सङ्ख्यामा अपराधी पक्राउ परे ? जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो ? तस्करी नियन्त्रणमा केकस्ता प्रयास भए ? आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबल उच्च राख्न केकस्ता काम भए ? त्यसको जवाफ प्रहरी प्रधान कार्यालयले खोज्ने बताए।
नागरिकबाट आउने महत्वपूर्ण सूचना प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । उनले मानव अधिकारको संरक्षण गर्दै आफ्नो क्षेत्रमा हुने विभिन्न अपराधको पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यकताअनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए।