सुदूरपश्चिमको विकासका लागि शालिन आन्दोलन, अझै भएन सुनुवाई
सुदूरपश्चिम– उद्योग वाणिज्य सङ्घको नेतृत्वमा सुदूरपश्चिम प्रदेशमा विकासका पूर्वाधार जुटाउन दबाब दिने उद्देश्यले शालिन ढङ्गको आन्दोलन थालिएको लामो समय भइसकेको छ ।
पहिलो सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न आएका मुख्य अतिथिलाई २१ बुँदे मागसहित २१ किलोको माला पहि¥याएर दबाबस्वरुप महोत्सव आयोजकले १६ वर्ष अघि दबाबस्वरुप शालिन आन्दोलन थालेको थियो । विसं २०६३ मा भएको पहिलो सुदूरपश्चिम महोत्सवमा पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रमुख अतिथिको रुपमा आमन्त्रित गरिएका प्रधानमन्त्री शेरबहादुर देउवालाई २१ किलोको माला पहिर्याइएको थियो ।
त्यसयता बर्सेनि भइरहेको सुदूरपश्चिम महोत्सवमा पनि पालैपालो प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रपति डा.रामवरण यादव, सभामुख सुभास नेम्वाङलगायतका देशका मुख्य तथा शीर्ष व्यक्तिलाई पनि उद्घाटन समारोहमा २१ किलोको माला पहिर्याएको थियो । “महोत्सव उद्घाटनमा सङ्घीय सरकारको विशिष्ट व्यक्ति मुख्य अतिथि नहुँदा यसबीचमा एक पटकको महोत्सवमा प्रदेश सरकारका मुख्यमन्त्रीलाई सातबुँदे मागसहित सात किलोको माला लगाएका थियौँ”, सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले भने, “यसपालिको सोह्रौँ संस्करणमा प्रमुख अतिथिलाई १५ बुँदे मागसहित १५ किलोको माला पहिर्याएका छौँ ।” यस वर्षको महोत्सवमा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवा थिए ।
कोरोना महामारीका कारण गत दुई वर्षयता रोकिएको महोत्सव यस वर्षदेखि पुनः सुचारु भएको हो । शालिन आन्दोलन जारी रहे पनि यो अवधिमा थोरै मात्र माग पूरा हुन सकेका छन् । “सङ्घीय सरकारले पूरा कार्यकाल काम गर्न नपाउँदा सङ्घले महोत्सवको अवसर पारेर राखेका महत्वपूर्ण धेरै माग अझै पूरा हुन सकेका छैनन्”, ओझाले थपे, “गौरीफन्टा नाकाको स्तरोन्नतिको विषयमा यसअघि सरकारको समेत नेतृत्व गर्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक चरणमा कुरा गरेर स्तरोन्नतिबारेमा सकारात्मक कुरा भएको थियो, तर देउवाको सरकार हटेपछि यो विषय ओझेलमा पर्यो ।”
तत्कालीन समयमा सङ्घले राखेका मागमध्ये धनगढी विमानस्थल कालोपत्रे, सुदूरपश्चिम विश्व विद्यालय स्थापना, अप्टिकल फाइबर बिछ्याउनेलगायत छिटपुटबाहेकका अधिकांश मागको सुनुवाइ अहिलेसम्म हुन सकेको छैन । अप्टिकल फाइबर बिछ्याउने काम व्यवसायीको मागभन्दा पनि नेपाल टेलिकमको आफ्नो नियमित कार्यक्रमअनुसार भएको व्यापारीको बुझाइ छ ।
सङ्घले राखेको मागमध्ये गेटामा मेडिकल कलेजका सबै संरचनाको निर्माण पूरा भइसकेको छ तर कलेजलाई कुन प्रारुपमा सञ्चालन गर्ने भन्नेमा टुङ्गो अझै लाग्न सकेको छैन । खुटिया– दिपायल ‘फास्ट ट्रयाक’ निर्माणलगायत माग भने हाल कार्यान्वयनको चरणमा छन्। पर्यटन कार्यालय स्थापना गर्नुपर्ने माग पूरा भएको छ । धनगढीमा स्थापना गरिएको पर्यटन कार्यालयबाट साधन स्रोतको अभावमा पर्यटनसम्बन्धी अपेक्षित काम हुन सकिरहेको छैन ।
विशेष आर्थिक क्षेत्र स्थापना, झुलाघाटको महाकाली नदीमाथि पुल निर्माण, गौरीफन्टा सीमानाकाको स्तरोन्नति, पश्चिम सेती परियोजना निर्माणलगायत सुदूरपश्चिम प्रदेशको विकासमा ठूलो महत्व राख्ने माग पूरा हुन सकेको छैन । सुक्खा बन्दरगाह निर्माणको चरणमा छ । विगतमा हलिया, कमैयाजस्ता कुप्रथाको प्रदेशका रुपमा चिनिएको सुदूरपश्चिमलाई ‘सुन्दर सुदूरपश्चिम’ प्रदेशको रुपमा चिनाउन र सन्देश दिन र स्थानीय कृषि, उद्योग, व्यापार पर्यटनलगायतको प्रवर्द्धन गरी आर्थिक समृद्धिको बाटोमा डो¥याउने मनसाय राखेर महोत्सव थालनी भएको थियो ।
“दबाब सिर्जना गर्न ब्यङ्ग्यात्मक र शालिन ढङ्गले माग राखेका थियौँ, सबै अतिथिबाट माग पूरा हुने अश्वासन पनि पाएका थियौँ”, सङ्घका पूर्वअध्यक्ष दिनेशराज भण्डारीले भने, “तर माग पूरा गर्नमा अहिलेसम्म त्यति चासो देखाइएको छैन ।” विकासका दृष्टिमा देशका अन्य क्षेत्रको तुलनामा पछि परेको सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि चाहिने पूर्वाधार जुटाउन उद्योगी व्यापारीले यस्तो शालिन आन्दोलनको आवश्यकता महसुस गरेका हुन् ।
“राजनीतिक तह र राष्ट्रको शीर्ष नेतृत्वलाई झकझक्याउनकै लागि नारा जुलुस नगरी यस्तो आन्दोलन सुरुआत गरिएको हो”, व्यवसायी मायाप्रकाश भट्टले भने, “तर १५ वर्ष पूरा हुँदासम्म मागको सुनुवाइ भएन ।” यस वर्ष भएको सोह्रौँ संस्करणको ‘सुदूरपश्चिम महोत्सव २०७९’ का मुख्य अतिथि प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ बुँदे मागसहित १५ किलोको माला पहिर्याइएको छ । झण्डै रु पाँच करोड ५० लाखको कारोबार भएको उक्त महोत्सव मङ्गलबार सकिएको छ । महोत्सवमा चार सयभन्दा व्यापारिक कक्ष रहेका थिए ।
गौरीफन्टा सीमानाकाको स्तरोन्नति, उद्योग स्थापना गर्नेलाई कम्तीमा पनि दश वर्षसम्म ट्याक्स फ्रि जोन (कर मुक्त क्षेत्र) घोषणा, प्रदर्शनीस्थल निर्माण, धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन, सेती प्रादेशिक अस्पताललाई क्षेत्रीय अस्पताल बनाउन, औद्योगिक क्षेत्र स्थापनालगायतका माग पनि सङ्घले त्यति बेला राखेको थियो । अहिले सङ्घीय सरकारबाट पूरा हुनसक्ने मागको सवाललाई समेटेर यस वर्षको महोत्सवमा १५ बुँदे माग पेश गरिएको ओझाले बताए ।
कम्तीमा पनि धनगढी विमानस्थलको थप सुदृढीकरण, चीन र भारत जोड्ने उत्तर दक्षिण ‘कनेक्टिभिटी’ मार्गको व्यवस्था, औद्योगिक क्षेत्रको स्थापना, सुक्खा बन्दरगाह र पश्चिम सेती परियोजना निर्माण हुनसकेमा प्रदेशको विकासमा सकारात्मक प्रभाव पर्ने व्यवसायीको भनाइ छ ।
पछिल्ला महिनामा बैंकले लिँदै आएको ब्याजदर साविकको भन्दा दोब्बरले बढ्दा व्यवसाय चौपट हुने अवस्थामा पुगेकाले ब्याजदर घटाउनुपर्ने माग पनि उद्योगी व्यवसायीले गरेका छन् । महोत्सव आयोजनाबाट स्थानीय कला, संस्कृतिको उजागर गर्दै यसको संरक्षणमा योगदान पुर्याएको र आर्थिक गतिविधिमार्फत यसका सम्भावना अवसरलाई उजागर गर्ने प्रयास गरेको व्यापारीको बुझाई छ ।
स्थानीयवासी नारायण चौधरीले महोत्सवको आयोजनासँगै स्थानीय उत्पादनले प्रोत्साहन पाउँदा उत्पादकलाई हौसला मिलेको मात्र नभई व्यापार व्यवसाय प्रवर्द्धनमा योगदान पुगेको बताउँछन् । यद्यपि पछिल्ला महोत्सव स्थानीय कृषिउपज, उद्यम, व्यापार व्यवसायको प्रवद्र्धनभन्दा पनि आयआर्जनमा केन्द्रित हुँदै गएको टिप्पणी पनि कतिपयको छ । –रासस